विद्युत् चोरी गर्ने १९ जना पक्राउ


लहान, २७ वैशाख । अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ ।

टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । लहान इलाकामा करिब ४०.४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । रासस