अहिलेको निर्वाचन परम्परागत भए पनि महत्वपूर्ण छ ः मन्त्री शर्मा


सरिता चलाउने, सल्यान
ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहको निर्वाचन पहिलोपटक हुन लागेकाले यो निर्वाचन परम्परागत भएको बताउनुभएको छ। २० वर्ष पहिले स्थानीय निकायको निर्वाचन भएको तर स्थानीय तहको निर्वाचन नभएकाले यो परम्परागत निर्वाचन जस्तो नभएको उहाँको दाबी रहेको छ। स्थानीय तहको चुनावले सिंहदरबारका अधिकारहरू गाउँमै पुर्याउने भएकाले परम्परागत चुनावभन्दा फरक भएको उहाँको भनाइ रहेको छ।

मंगलबार बिहान सल्यानको श्रीनगरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यन्वयन हुने भएकाले पनि अहिलेको चुनाव महत्वपूर्ण भएको बताउनुभयो। सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागेको उहाँले जानकारी दिनुभयो। ‘सरकारले सबै राजनीतिक दलहरूलाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागेको हो’ –मन्त्री शर्माले भन्नुभयो।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण जस्ता महत्वपूर्ण विषयहरू माओवादी केन्द्रले संस्थागत गरेकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउनुपर्ने बताउनुभयो। संविधानमा उल्लेख गरिएका अधिकारहरूलाई पूर्ण कार्यन्वयनमा ल्याउनका लागि पनि माओवादीले जित्नै पर्नेमा जोड दिनुभयो।

उहाँले भारत सरकारसँग खरिद गर्न लागेको एलईडी बल्वको प्रसंगमा बोल्दै मन्त्री शर्माले बाहिर आएजस्तो कुनै चल खेल नभएको दाबी गर्नुभयो। ‘बल्व खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन’ –मन्त्री शर्माले भन्नुभयो। नेपालमा लोडसेडिङ हटेको देख्न नसक्नेहरूले मन्त्रीले चलखेल गर्यो भने अफाह फैलाएको उहाँको भनाइ रहेको छ।