चुनाव नै नलडी हारे महिला


रोशन पराजुली, हेटौंडा
मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच घोषित समीकरण बनेको छ। ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि दुई पार्टीबीच चुनावी तालमेलसँगै दुवै दल महिला विजय गराउने योजनाबाट भने पछि हटेका छन्।

चुनावी तालमेलअनुसार प्रमुख पदमा महिलालाई देखावटी मात्र उम्मेदवार बनाएर ती पार्टीले पुरुष उम्मेदवारलाई मात्र निर्वाचित गराउने योजना बनाएका हुन्। चुनावी तालमेलअनुसार माओवादी केन्द्रबाट थाहामा उपमेयरमा उम्मेदवारी दर्ता गरेकी शकुन्तला गोपाली र मेयरमा उम्मेदवार दर्ता गराएकी कांग्रेसकी पवित्रा महत (विष्ट) पछाडि हट्न वाध्य भएका छन्।

हेटौंडामा मेयरमा उम्मेदवारी दर्ता गराएकी माओवादीकी कुमारी मोक्तान र कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवारी दर्ता गराएकी लक्ष्मी श्रेष्ठ पनि कांग्रेस माओवादीको समीकरणअनुसार पछाडि हटे। अब हेटौंडामा कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ भने माओवादीका उपमेयर उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ।

थाहा नगरमा माओवादीका लवशेर विष्ट दुवै पार्टीका साझा उम्मेदवार हुनेछन् भने कांग्रेसका खड्गबहादुर गोपाली उपमेयरका साझा उम्मेदवार बन्नेछन्।

आसन्न स्थानीय तह निर्वाचनमा महिलाका सवाललाई प्राथमिकता दिन अनुरोध गर्दै महिला अधिकार मञ्चको टोली मकवानपुरका राजनीतिक दलहरूको कार्यालयमा पुगेको थियो। दलहरूको कार्यालयमा पुगेर मञ्चले निर्वाचनमा महिलाको पहुँच र अर्थपूर्ण सहभागिताबारे पार्टीको घोषणापत्रमा समेट्न गर्न अनुरोध गरेको हो।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने महिलालाई आर्थिक, सामाजिक, राजनीतिक सुरक्षासहित पार्टीले महिला उम्मेदवारलाई संरक्षण गर्न माग गरिएको थियो। टोलीले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मकवानपुरको कार्यालयमा मागपत्र बुझाएको थियो।

मागपत्र बुझ्दै नेपाली कांग्रेसका मुख्य सल्लाहकार माइकल रामचन्द्र अर्यालले आफ्नो पार्टी महिलाका सवालमा संवेदनशील भएको बताएका थिए। नेकपा एमाले उपाध्यक्ष बद्री लम्सालले एमालेले महिला नेतृत्व विकासका लागि पहल गरिरहेको बताएका थिए। एमालेले भने महिलालाई उपमेयर उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्र मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीले पार्टी मागका सन्दर्भमा सम्पूर्णरुपले सहमत भएको र माओवादीले विगतदेखि महिलाका सवाल उठाउँदै आएको दाबी गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने विश्वास दिलाएका थिए।

राप्रपा अध्यक्ष रामहरि न्यौपानेले राप्रपा यस सन्दर्भमा सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। ‘महिलाहरू क्षमता विकाससहित राजनीतिमा लाग्ने हो भने भविष्यमा महिलाले नेतृत्व गर्नसक्ने र यस सन्दर्भमा पार्टी सकारात्मक भएको’ अध्यक्ष न्यौपानेको भनाइ थियो। राप्रपाले पनि उपमेयरमा महिलालाई स्थान दिएको छ। ठूला दलहरूले नै समीकरणका नाममा महिलालाई उम्मेदवार नबनाए पनि महिला अधिकारवादी भने बोलेका छैनन्।