सिमावर्ती बजारमा चार नेपाली लुटिए


कुमार श्रेष्ठ, बाँके
भारतमा कमाइ गरेर फर्किएका चार नेपाली लुटिएका छन्। गढवालमा काम गरेर घर फर्किरहेका जाजरकोट सुवानाउलीका चारजना सीमावर्ती बजार रुपैडिहामा लुटिएका छन्। बसमा सँगै आएका व्यक्तिले नसालु पदार्थ मिसाएको बिस्कुट खुवाएर चार जना नेपालीको पैसा लुटेका हुन्।

भारतको नैनीतालबाट आएको र सल्यान घर बताउने युवाले जाजरकोटका चार जनाबाट १ लाख ७ हजारबढी भारतीय रुपियाँ लुटेका छन्। पारस थापा र शेरबहादुर थापा (दाजुभाइ) को एउटै झोलामा राखेको ७५ हजार भारु लुटिएको छ। वीरे खड्काको २० हजारमध्ये १२ हजार १ सय ६० भारु मात्रै बचेको छ। प्रेम थापाको २८ हजारमा १ हजार ९ सय ९० रुपियाँ भारु मात्रै बचेको छ। वीरे र प्रेमले छुट्टाछुट्टै गोजीमा पैसा राखेकाले केही बचेको थियो। ‘भित्री गोजीको पैसा लगे, बाहिरको बचेको छ, –खड्काले भन्नुभयो।

गढवालबाट बस परिवर्तन गर्दै आएका चार जाजरकोटीलाई बरेली–रुपैडिहाको बसमा अपरिचितले बिस्कुट खुवाएका थिए। बिहान रुपैडिहा बसपार्कमा आइपुग्दा सबै बेहोस् भइसकेका थिए। अर्धचेत अवस्थामा रहेका पारसले आफ्नो झोला लगेको देखेपछि लखेट्ने प्रयास गरे पनि असफल भएका थिए।
रुपैडिहा बसपार्कमा नेपालीहरू बेहोस अवस्थामा रहेको सूचना आएपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगन्ज पुर्याएको थियो। बिहान अस्पताल ल्याइएका उनीहरूको चार बजेपछि होस आएको छ। वीरे, प्रेम र शेरबहादुर बढी लठ्ठिएका थिए। उनीहरूको ढिलो होस आएको छ।

गढवालमा वीरे र प्रेमले मिस्त्री तथा थापा दाजुभाइले होटलमा काम गर्थे। चाडबाड मनाएर कात्तिकमा भाइ शेरबहादुर गढवाल गएपछि दाजु पारस मंसिरमा भाइ भएको ठाउँमा गएका थिए। चाडबाड मनाएर गएका उनीहरू यतिबेला घर फर्किएका थिए। वीरे र प्रेम भने दुई महिनाअघि मात्रै गढवाल गएका थिए।

वीरेले २० हजार, प्रेमले २८ हजार, थापा दाजुभाइले ७५ हजार भारतीय रुपियाँ बोकेर घरमा आइरहँदा १० रुपियाँको बिस्कुटमा लोभ गर्दा कमाइ लुटिएको छ। नेपालीजस्तो देखिने र सल्यान घर बताउने युवाको विश्वासमा पर्दा यी जाजरकोटीले कमाइ गुमाएका छन्। बिस्कुट खुवाउनेले रक्सी खाएकोजस्तो हाउभाउ देखाइरहेको उनीहरूले बताए।

१० रुपियाँको बिस्कुटको लोभ गर्दा लुटिएकाहरूको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। नजिक रहेका उनीहरूको आफन्तहरू अस्पतालमा आएका छन्। भारतमा कमाइ गरेर आउने नेपालीहरू यात्राका क्रममा लुटिने घटना भने नौलो होइन। चाडबाडका बेलामा दैनिकजसो लुटिने नेपालीहरू बाह्रैमास लुटिएको तथ्यांक आउने गर्दछ। बसमा लुटिनबाट बचेका नेपालीलाई नाकामा अटोरिक्सा, टाँगावालाले लुट्ने गरेको पाइन्छ। पछिल्लो दिनमा दैनिकजसो लुटिएका घटना आउन थालेपछि नाकामा रहेको जमुनाहा प्रहरीले रिक्सा र टाँगामा आउने नेपालीलाई कति पैसा तिरेका छौं भनेर सोध्ने गरेको छ।

भारतका विभिन्न शहरमा मजदुरी गरेर पैसा कमाउने नेपालीलाई कमाइ घरमा पुर्याउन फलामको चिउरा चपाउनु सरह हुने गरेको छ। सरकारले बैंकिङ सुविधाको व्यवस्था नगर्दा नेपालीले दुःख पाइरहेका छन्। अपरिचित व्यक्तिले दिएको खानेकुरा खादा लुटिएको समाचारहरू बारम्बार आइरहँदा पनि नेपालीहरू विश्वासमा पर्ने गरेर दुःख पाएका छन्। हजारौं रुपियाँमा गोजीमा राखेर अपरिचितले दिएको १० रुपियाँको बिस्कुट, ३० रुपियाँको कोक, २० रुपियाँको पानी पिउदा सर्वस्व गुमाएका छन्। यात्राका क्रममा नेपालीहरूसँग घुलमिल भएर पैसा लुट्नेमा नेपाली र भारतीय गिरोह सक्रिय रहेको पाइन्छ।

नेपालकै कुनै पहाडी जिल्ला घर बताउने र अन्य साथीहरूसँग मिलेर सोझा नेपाली लुट्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। भारतीय प्रहरीको सहयोग लिएर बाँके प्रहरीले यस्ता लुटेरालाई समात्ने धेरै प्रयास गरे पनि असफल हुँदै आएको छ। नेपाली नाकामा बसेर लुट्ने केहीलाई भने बाँके प्रहरले पक्राउ गरेर कारबाही गरेको थियो।