चट्याङ लागेर तीनको मृत्यु


कुशलबाबु बस्नेत, उदयपुर
वाहुरी र वर्षातसँगै मंगलबार बिहान परेको चट्याङले लागेर उदयपुरको दुई स्थानमा तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा कटारी गारपालिका ११ हर्देनीका ४७ वर्षीय भेषबहादुर खत्री र सोही ठाउका ५५ वर्षीय बलबहादुर बस्नेत सुनकोशी गाँउपालिका ५ जाँतेकी ११ वर्षीय बालिका तुलसा विक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब निरीक्षक शंकरप्रसाद खतिवडाका अनुसार बिहान आठ बजे कटारी नपा ११ स्थित बलबहादुर बस्नेतको घरमा चट्याङले लागि घरैमा रहेका खत्री र बस्नेतको मृत्यु भएको हो। उनीहरूसँगै घाइते भएकी ३३ वर्षीय कल्पना बस्नेतको बिराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा उपचार भइरहेको छ। यसै गरी बिहानै परेको चट्याङ लागी सख्त घाइते भएकी सुनकोशी गाँउपालिका ५ डाङ्सीङटारका पदमबहादुर विककी ११ वर्षीय छोरी तुलसालाई उपचारका लागि स्वास्थ्य चौकी जाँते लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तिनैजनाको कानुनी प्रकृया पूरा गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

मंगलबार बिहानै एक्कासि हावा हुरीसंगै जिल्लाका विभिन्न स्थानमा चट्याङ परेपछि जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बसी दैविक विपत्तिमा परेकाहरूलाई उद्धार गर्न सबै संयन्त्रहरू सजक अवस्थामा बस्न निर्देशन दिएको जिल्ला समन्वय समिति उदयपुरका सूचना अधिकृत विश्वजित राईले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम त्यसको न्यूनिकरण र उद्धारको योजना बनाउनसमेत निर्देशन गरेको जनाइएको छ।