जापानिज प्रविधिको इँटा उत्पादन

0
Shares

भक्तपुर, (नेस)
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भक्तपुरको चाँगुनारायणस्थि बागेश्वरीमा जापानिज प्रविधिमा नेपालमै पहिलोपटक प्रदुषण रहित इँटा उत्पादन कार्यको शुभारम्भ गर्नुभएको छ। यो उद्योग इकेन प्रालि र नेपालका पाँच उद्योगपतिको संयुक्त लगानीमा सञ्चालनमा आएको हो।

सुपर इको ब्रिक इनोभेसनले उत्पादन गरेको इँटा उत्पादन शुभारम्भ गर्दै उहाँले नेपालमा पहिलोपटक पोल्न नपर्ने, प्रदुषणरहित इँटा उत्पादन शुरू गरेको बताउनुभयो। राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन शुरू गरेको बताउँदै यसले वातावरणीय सन्तुलनमा भूमिका निर्वाह गर्ने बताउनुभयो।

जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताउँदै उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेकोमा वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने बताउनुभयो। कार्यक्रममा उद्योगमा प्रबन्ध निर्देशक सुनील लोहियाले २० करोड रुपियाँको लगानीमा शुरू भएको यो उद्योगले दैनिक एक लाख वटा इँटा उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो। सय रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले दुई जनालाई रोजगारी दिएको बताउँदै यस इँटाको प्रयोगबाट प्लास्टर र रङको प्रयोग गर्नु नपर्ने र पानी समेत नरसाउने बताउनुभयो।

त्यस अवसरमा उद्योगका अध्यक्ष प्रकाश गिरीले उद्योगबाट उत्पादन हुने प्रत्येक इँटाको मूल्यबाट प्रतिइँटा १० पैसाका दरले रकम संकलन गरी सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीयको स्वास्थ्य र शिक्षामा खर्च गरिने बताउनुभयो।