राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता


काठमाडौं, (नेस)

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चांैथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता जनाएको छ। चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रूपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि वैशाख ३१ गतेसम्म चल्नेछ।

सामाजिक उत्तरदायित्वअन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरी, सडक सुरक्षा समाज नेपाल, सडक विभाग, काठमाडौं महानगरपालिका, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले संयुक्त आयोजना गरेको सप्ताहलाई साथ दिएको हो। सप्ताहको पहिलो दिन सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको थियो।

जसमा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रसंघीय विकास परियोजनाका कन्ट्री डिरेक्टर रेनड मेयरलगायत सडक विभाग, काठमाडौं महानगरपालिका, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, सडक सुरक्षा समाज नेपाल र एमएडब्लु इन्टरप्राइजेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
‘सेभ लाइभ्स, स्लो डाउन’ नारा रहेको सप्ताहले यो वर्ष चालकले आफ्नो सवारीसाधनको गति कम गर्न अपिल गर्नेछ। आधिकारिक तथ्यांकअनुसार नेपालमा हरेक दिन सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुने गरेको छ।