मधेसवादी दलसँग प्रमको कुरा मिलेन


संघीय गठबन्धनद्वारा आन्दोलनको घोषणा

बीपी साह, काठमाडौं
पहिलो चरणको निर्वाचनअघि संघीय गठबन्धनलाई सहमतिमा ल्याउने प्रधानमन्त्रीको प्रयास असफल भएको छ। गठबन्धनले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान दोहर्याउँदै आन्दोलनको घोषणा गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सहमतिका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी(केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र संघीय गठबन्धनसंग छलफल गरे पनि कुनै सहमति हुन सकेन। बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनको माग पूरा गर्न आफू प्रयासरत रहेको तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले गर्दा अघिल्लोपटक संविधान संशोधन हुन नसकेको बताउनुभएको थियो।

बैठकमा प्रधानमन्त्रीले आफू चेपुवामा परेको गुनासो गर्दै जेठ ४ गतेको संसद्को बैठकमा संविधान संशोधन हुने विश्वास दिलाउनुभएको थियो। बैठकमा उहाँले भन्नुभयो– ‘म अप्ठयारोमा परेको छु। संविधान संशोधन गर्न चाहे पनि गर्न सकिएको छैन। तर विश्वास गर्नुस् मैले हरसम्भव प्रयास गर्नेछु।’

बैठकमा सहभागी संघीय गठबन्धनका नेता अनिलकुमार झाका अनुसार संविधान संशोधन नभएसम्म गठबन्धन चुनावमा जाने छैन।

झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संविधान संशोधन नभएसम्म हामी निर्वाचनमा जाँदैनौं भन्ने कुरा प्रष्ट पार्यौं। सरकारबाट पूरा हुन सक्ने माग पनि पूरा नभएकोप्रति हामीले असन्तुष्टि व्यक्त गर्यौं।’ बैठकमा गठबन्धनका संयोजक महन्थ ठाकुरले सरकारप्रति आक्रोश व्यक्त गर्दै संशोधन तत्काल गर्न र आफूहरूलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गर्नुभयो। ठाकुरले निर्वाचनमा जानका लागि आफूहरूको दल दर्ता नभएको र चुनाव चिन्हसमेत नरहेको बताउनुभयो।

ठाकुरको कुरा सुनेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गरी पार्टी दर्ता र चुनाव चिन्ह दिने प्रतिवद्धता व्यक्त गर्नुभएको गठबन्धनका नेता कुमार लिंग्देनले बताउनुभयो।

स्थानीय निकायको संख्या बढाउने विषयमा सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘विजय जी(विजयकुमार गच्छदार)ले स्थानीय विकास मन्त्रालय सम्हाल्नुभएको छ। उहाँले तत्कालै स्थानीय निकायको संख्या बढाउने काम गर्नुहुनेछ।’

मधस आन्दोलनका क्रममा लगाइएका मुद्दाहरू अहिलेसम्म फिर्ता नभएको र क्षतिपूर्ति पनि नदिइएकोप्रति गठबन्धनका नेताहरूले आक्रोश व्यक्त गरेका थिए। बैठकपछि एमाले नेता बामदेव गौतमले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिँदै गठबन्धनसँग छलफल गर्न एमाले तयार रहेको बताउनुभयो।

प्रधानमन्त्रीसँगको छलफलमा सहमति नभएपछि राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ। आन्दोलनका कार्यक्रमअनुसार वैशाख २९ गते मधेसका जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन र जेठ १ गते विरोध र्याली प्रदर्शन गरिनेछ। जेठ ४ गतेको व्यवस्थापिका संसद् बैठकमा संविधान संशोधनका लागि दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरिएको राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो।

स्थानीय निकायको संख्या तत्काल बढाउनेसहित संघीय गठबन्धनको माग पूरा गराउन दबाबस्वरुप आन्दोलन घोषणा गरिएको उहाँले बताउनुभयो। जेठ ४ गते संविधान संशोधन नभए आमहड्तालसहितको आन्दोलनका कार्यक्रम हुने बताउँदै सुमनले भन्नुभयो– ‘हामी यसभन्दा अघिका आन्दोलन भन्दा पनि कडा आन्दोलनमा जानुको विकल्प छैन।’