पोखरामा माओवादीले कांग्रेसलाई सघाउने


नेपाल समाचारपत्र
पोखरा
नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महागरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामजी कुँवरलाई समर्थन गर्ने प्रतिबद्धता गरेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेलअनुसार पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने केन्द्रीय सहमतिअनुसार कास्की जिल्लामा पनि संयुक्त पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रले रामजी कुँवरलाई रुखमा भोट हाल्ने प्रतिबद्धता गरेको हो।

‘सहकार्य अक्षरशः पालना गर्नेछौं। कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई भोट हाल्नेछौं।’ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दिपक कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने– ‘कुँवर कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार हुन्। सहकार्यबाट हामी विचलित हुदैनौं।’ उनले कांग्रेसलाई मेयरमा समर्थन गर्ने प्रचार सामाग्रीसमेत तयार पारिएको बताए। ‘मतदातामा मनोविज्ञान असर परेको छ। यद्यपि हामीले सहमतिअनुसार अक्षरशः पालना गर्नेछौं।’ उनले भने।

संयोजक कोइरालाले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई माओवादी केन्द्रको मत अन्त जाने परिस्थिति नहुने स्पष्ट पार्दै वडास्तरमा पनि सहकार्य हुने बताए।। नेपाली कांग्रेसका सभापति कृष्ण केसीले मुलुकको सिंगो आवश्यकताले सहकार्यको निर्णय गरिएको जनाए।

‘माओवादी केन्द्रका साथीहरू इमान्दार व्यवहार अनुकरणीय रहनेछ।’ उनले भने– ‘सही निर्णय सही निकास निस्कन्छ।’ अब चुनावमा दुविधा र कटुता नराखी चुनावी अभियानमा सहभागी हुन कांग्रेस र माओवादी केन्द्रका कार्यकर्तालाई सभापति केसीले आग्रह गरे।