उदारवादी मून जाय – इन दक्षिण कोरियाका नयाँ राष्ट्रपति


सोल,(एजेन्सी)
दक्षिण कोरियाली जनताले मंगलवार उदारवादी उम्मेदवार मून जाय– इनलाई हाल सम्म प्राप्त मत गणना नतिजा अनुसार नयाँ राष्ट्रपतिको रुपमा चयन गरेको बताइएको छ ।

मूनले कूल मतदाता संख्याको ४१ दशमलव ४ र उनका निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ होंग जून–प्योले २३ दशमलव ३ प्रतिशत मत हासिल गरेका छन् ।

दक्षिण कोरियाको वर्तमान वैदेशिक नीतिलाई परिवर्तन गरी उत्तर कोरियासंगको वृहत वार्ताको पक्षमा मून रहेका छन् । पुर्व राष्ट्रपति पार्क गेयुन ह्येलाई भ्रष्टाचारको अभियोगमा महाभियोग पारित भएपछि यो मद्यावधि चुनावको आयोजना भएको हो ।
पार्कलाई आफ्नी एक निकटतम मित्र चोइ सुन सिललाई आफ्नो राजनीतिक प्रभाब दुरुपयोग गरी विभिन्न व्यापारिक कम्पनीबाट अर्थ संकलन गर्न लगाएको अभियोग लगाइएको थियो ।

तर पार्कले अन्तिम क्षण सम्म पनि आफु माथि लगाइएका सम्पुर्ण आरोप अस्विकार गरेकी थिइन् । मूनले बुधवार पदको शपथ ग्रहण गर्ने अनुमान गरिएको छ । उक्त चुनावी परणामलाई तीनवटा नेटवर्क टेलिभिजन स्टेसनले संयुक्त रुपमा बाहिर ल्याएका हुन् ।

मूनको उद्देश्य गत दश वर्ष देखि उत्तर कोरियामाथि लगाइँदै आएको कडा नाकावन्दि त्यागेर सुमधुर सम्बन्ध विकास गर्नु रहेको छ । मून हालै संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा प्रति क्षेप्यास्त्र प्रणाली तैनाथ गरेकोमा पनिखुशी नरहेको बुझिएको छ ।
उत्तर कोरियाबाट आएका शरणार्थीका छोरो मून बिद्यार्थीकालमा सत्तरीको दशकमा सैनिक शासक पार्क चुंग हीविरुद्धको प्रदर्शनको नेतृत्व गरेको कारण जेल परेका थिए । पार्क चुंग ही पार्क गेयुन ह्येका पिता हुन् ।

पछि मानव अधिकारवादी वकिल बन्नु अघि सम्म उनले दक्षिण कोरियाको विशेष फौजमा काम गरेका थिए । सन् २००० हजारको शुरुतिर मून सरकारमा रहेकोबेला पनि दक्षिण कोरियाको उत्तर कोरियासंग सहयोगी सम्बन्ध रहेको थियो । तर उत्तरले आणविक हातहतियार परिक्षण गरेपछि त्यो उदार नीति परिवर्तन हुन पुगेको थियो । मूनले तत्कालिन उदारवादी राष्ट्रपति रोह मू –ह्युनको वरिष्ठ सहयोगीको भुमिका निभाएका थिए ।

भ्रष्टाचारको अभियोगमा सत्ताबाट बाहिरिएपछि सन् २००९ मा ह्युनले आत्महत्या गरेका थिए ।

मध्यमार्गी वामपन्थि डेमोक्रेटिक पार्टीका मूनले सन् २०१२ मा पनि पार्क गुयुन विरुद्ध राष्ट्रपति चुनाव लडेका थिए ।

हिजो मतदान गर्ने क्रममा उनले पत्रकारहरुलाई भनेका थिए , ‘ मलाई लाग्छ , मेरो पार्टी र म मात्र हैन जनता स्वयम पनि सरकार परिवर्तन्का लागि निकै लालायित छन् । ’ उनले आफुले दक्षिण कोरियाको राजीनीतिलाई निश्चित परिवारको प्रभाबबाट मुक्त गराउन चाहेको पनि बताएका थिए ।