सुरक्षा निकाय तम्तयार


केही भइहालेमा २० मिनेटभित्रै थप सुरक्षा व्यवस्था,आवश्यक परे हेलिकोप्टरसमेत लगिने

दीपक रिजाल, काठमाडौं
बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको छ।

तीनवटै सुरक्षा निकाय अहिले निर्वाचन हुने ३४ जिल्लाको मतदान केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्नुका साथै स्थानीयस्तरमा सुरक्षा निकायले गर्नुपर्ने रणनीतिक कार्य शुरू गरेको गृह मन्त्रालयले जनाएको छ।

सरकारले चुनाव हुनुपूर्व अपनाउनुपर्ने सुरक्षा रणनीतिदेखि चुनाव हुने दिन र चुनाव सकिएपछिको रणनीतिसमेत बनाएर कार्यान्वयनमा ल्याएको छ।

सरकारले निर्वाचनका दिन कुनै हिंसात्मक घटना भए त्यसको ढिलोमा २० मिनेटमा घटनास्थलमा थप सुरक्षा फौज पुग्ने गरी व्यवस्था मिलाएको पनि दाबी गरेको छ।

तीनवटै सुरक्षा निकायको एकीकृत सुरक्षा प्रणालीअन्तर्गत चुनाव हुने जिल्लाको अनुगमन केन्द्र, क्षेत्र र जिल्ला स्तरबाट हुने र कुनै ठाउँमा थप मद्दत चाहिए हेलिकोप्टरको समेत व्यवस्था गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह प्रवक्ता बालकृष्ण पन्थीले सुरक्षाका सबै तयारी पूरा भएर अहिले कार्यक्षेत्रमा कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिनुभयो।

अहिले नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी १ लाखको हाराहारीमा चुनावमा परिचालित हुने भएका छन्। सुरक्षा निकायले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरी सोहीअनुरुपको सुरक्षा फौज परिचालन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो।

तीनवटा सुरक्षा निकायमध्ये नेपाल प्रहरीले मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मत पेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ भने त्यसभन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरी बलले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो।
सामान्य अवस्थामा रहेका मतदान केन्द्रमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना प्रहरी र ४ जना म्यादी प्रहरी खटिने भएका छन् भने सशस्त्र प्रहरी बलको ७ जना र नेपाली सेनाको एक सेक्सन खटिने भएका छन्।

संवेदनशील क्षेत्रमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकको कमाण्डमा ६ जना नेपाल प्रहरी र ८ जना म्यादी प्रहरी २० जना सशस्त्र प्रहरी बल र आवश्यक संख्यामा नेपाली सेना खटिने भएको छ।

अति संवेदनशील क्षेत्रमा भने आवश्यक संख्यामा सुरक्षा फौज परिचालन गर्ने र थप चाहिए तत्कालै उपलब्ध हुने गरी सुरक्षा व्यवस्था मिलाएको सरकारले जनाएको छ।