बोको हरामद्वारा छात्राहरू मुक्त


अबुजा, (एजेन्सी)
इस्लामिक लडाकू समूह बोको हरामले तीन वर्षअघि उत्तर पूर्वी नाइजेरियाबाट अपहरण गरेका २ सय ७६ जना विद्यालयका छात्रालाई रिहा गरेको आइतबार राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारसंगको वार्तापछि बोको हरामका केही आशंकित लडाकूहरूको बदलामा तिनीहरूलाई मुक्त गरिएको हो।

ती छात्राहरू हिजो राजधानी अबुजा आइपुगेका हुन्। तिनीहरूलाई राष्ट्रपति मुहम्मादु बुहारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। ती ‘चिबोक बालिकाहरू’ को अपहरणलाई लिएर अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चिनुका साथै सामाजिक सञ्जालले तिनीहरूको मुक्तिका लागि व्यापक अभियान थालेका थिए। अहिलेसम्म अझै १ सय ९५ जना बालिका हराइरहेका छन्। तर कतिजना बोको हराम लडाकू मुक्त गरिए भन्ने कुरा गोप्य नै राखिएको छ। ती ८२ जना बालिकालाई विकट ग्रामीण क्षेत्रबाट सडकमार्गबाट सवारी साधनमा राखेर ल्याइएको र अहिले तिनीहरू क्यामरुन नजिकको बानकीस्थित एउटा सैनिक अखडामा सैनिक हिरासतमा राखिएको लागोसबाट आएका बीबीसी पत्रकार स्टेपानी हेगार्टीले बताएका छन्।

राष्ट्रपति बुहारीका प्रवक्ताले एक वक्तव्य जारी गर्दै यस अपरेसनमा विशेष भूमिका निभाएवापत विभिन्न सुरक्षा निकाय, सेना, स्विस सरकार, अन्तर्राष्ट्रिय रेडक्रस समिति तथा स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई धन्यवाद दिएका छन्।