एमाले उम्मेदवारले रुखमा, कांग्रेस उम्मेदवारले सुर्यमा भोट माग्न थाले



धनवीर दाहाल, रुकुम ।
रुकुमको एक गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच चुनावी तालमेल भएपछि एमाले र कांग्रेसका संयुक्त चुनावी सभाहरु हुन थालेका छन् ।

बाँफिकोट गाँउपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार जनककुमार बाँठालाई नेकपा एमालेका अध्यक्षका उम्मेदवार नगेन्द्रप्रसाद रिजालले आफुलाई भोट माग्नुको सट्टा जनकुमार बाँठाको लागी रुखमा भोट मागिरहेका छन् ।

उम्मेदवारी फिर्ता लिने समय सम्म नमिलेका उनीहरु अहिले आएर चुनावी तालमेल गरी संयुक्त रुपमा भोगमाग्न हिडिरहेका छन् । यसै गरी नेकपा एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार बिउझना पुनलाई नेपाली कांग्रेसकी उपाध्यक्षकी उम्मेदवार हिरा के.सीले सुर्यमा भोट हाल्न अनुरोध गरिरहेकी छन् ।

उनीहरु संयुक्त रुपमा घरदैलो, चुनावी सभा तथा जनभेटघाट गरिरहेका छन् । बाँफिकोट गाँउपालिकाको वडा नं ३,४ र ५ मा पनि एमाले कांग्रेसले तालमेल गरी संयुक्त रुपमा प्रचार गरिरहेका छन् ।

वडा नं ३ मा नेपाली कांग्रेसलाई वडा अध्यक्ष तथा ४ र ५ मा वडा अध्यक्ष एमालेले लिने सहमति सहित उनीहरुले प्रचार प्रसार गरिरहेका छन् । वडा नं ३ मा नेपाली कांग्रेसका हर्कसिंह खत्री, वडा नं ४ मा एमालेका हरिराम जैसी र वडा नं ५ मा एमालेकै भक्तबहादुर के.सी मैदानमा उत्रिएका छन् । ति सबै वडामा माओबादी केन्द्रसँग चुनावी प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्