मेची पुल निर्माण कार्य शुरू

0
Shares

उत्तम नेपाल, भद्रपुर
प्राविधिक कारण देखाउँदै केही महिनादेखि निर्माण कार्य रोकिएको भद्रपुरस्थित मेची पुलको निर्माण पुनः शुरू भएको छ। निर्माणाधीन पुलको ११ र १२ नम्बर पिलरमा जमिनमुनि भसाउँदा बा·िने समस्या भएर गत वर्षबाटै निर्माण सुस्ताएको पुल निर्माण कार्य विभागको नयाँ स्वीकृत स्टमेट आएपछि काम शुरू गरिएको हो।

भौतिक निर्माण तथा पूर्वाधार राज्यमन्त्री सीताराम मेहताले विभागबाट तयार भएको नयाँ स्टमेट नक्सा पुल निर्माण कम्पनीलाई शुक्रबार हस्तान्तरण गरेपछि रोकिएको निर्माण सुचारु भएको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए। गत हप्ता नेपाली कांग्रेस भद्रपुर नगर समिति र क्षेत्रीय समितिले पुल निर्माणमा भएको ढिलाइप्रति चासो दिँदै सांसद कृष्णप्रसाद सिटौलालाई दबाब दिएका थिए। सो दबाबपछि सिटौलाले भौतिक योजना मन्त्रीलाई निर्माण सुचारु गर्न आग्रह गरेका र स्वीकृत पत्रसहित राज्यमन्त्रीलाई मन्त्रालयले स्थलगत अध्ययन गर्न पठाएको जनाइएको छ। निर्माण स्वीकृत प्राविधिक पत्र आएपछि अब मेची पुल असार मसान्तभित्रमा निर्माण पूरा हुने निर्माण पक्षको भनाइ छ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ शुरू गरिएको पुल ७ वर्ष बित्न लाग्दा बल्ल सञ्चालन हुने आशाा पलाएको छ। ०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण कार्य सम्पन्न नभए आफूले राजनीतिबाट संन्यास लिने उद्घोषका साथ तामझामसहित पुल शिलान्यास गरेका थिए। तर गच्छदारले संन्यास नलिए पनि पुल बन्ने पक्का भएको छ। गच्छदार मेची पुल शिलान्यास गर्ने तेस्रो व्यक्ति हुन्। यसअघि २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले पहिलो पटक पुलको शिलान्यास गरेका थिए। शिलान्यास गरेको १९ वर्षसम्म पुल नबनेपछि २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रोपटक शिलान्यास गरे। दोस्रोपटक शिलान्यास गरेको २५ वर्षपछि गच्छदारले तेस्रोपटक शिलान्यास गरेको मेची पुल निर्माण कार्य आठ वर्षमा पनि पूरा हुन सकेको छैन।

झापाबासीले ६ दशकअघिबाट मेची पुल निर्माणका लागि दबाब अभियान चलाउँदै आए पनि त्यो पूरा भएको छैन। पछिल्लोपटक कनक सूर्य एन्ड सन्स कम्पनी ठेकेदार रहेको मेचीपुल निर्माणको लागत ३७ करोड ३६ लाख ५० हजार रहेको छ। ६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको छ।

बिहार र बंगालको बोर्डरसँग जोडिने भएका कारण पुल सञ्चालनसँगै सो क्षेत्रमा व्यापार व्यवसाय फस्टाउने स्थानीयको बुझाइ छ। मेची पुल सञ्चालनमा आएपछि त्यहाँबाट अढाइ किलोमिटरमा रेल स्टेसन पुग्न सकिन्छ। मेची पुल सञ्चालनसँगै दक्षिणी क्षेत्रमा आर्थिक चहलपहल बढ्ने जानकारहरू बताउँछन्। अब केही महिनापछि झापाबासीको मेची पुलबाट आवातजावत गर्ने सपना विपनामा परिणत हुनेछ।

Skip This