रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङको दोभान बाट ओलाङ्चुङगोला जोड्ने मोटरबाटो निर्माणका लागि वातावरणिय प्रभाव प्रतिबेदनमा राय सुझाव पठाउन जनसंख्या तथा वातावरण मन्त्रालयले सार्वजनिक आवहान गरेको छ ।
मन्त्रालयको भू–वातावरण तथा सामाजिक शाखा र सडक विभागले जिल्ला समन्वय समितिको कार्यालय, फुङ्लिङ नगरपालिकाको कार्यालय, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिको कार्यालय र फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयलाई सुझाव पठाउन आवान गरेको हो ।
यस बाहेक जनसंख्या तथा वातावरण मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, नेपाल राष्ट्रिय पुस्तकालय, संसद सचिवालय र आदिवासी जनजाति महासंघको कार्यालयबाट समेत प्रतिबेदन हेर्न वा उतार गर्न सकिने व्यवस्था गरिएको छ ।
मेची राजमार्ग अन्र्तगत प्रस्तावित यो सडक दोभानबाट सुरु भई टीपताला भञ्ज्याङ पुगेर टुङ्गिने छ । राष्ट्रिय राजमार्गको रुपमा प्रस्तावित सडकको क्षेत्राधिकार मेची राजमार्ग झैं दाँया १५ र बाँया १५ गरी ३० मिटर रहने छ भने सवारी साधनको गति प्रति घण्टा ३० किलोमिटर रहने गरी वातावरणीय प्रस्ताव गरिएको छ ।
उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले वातावरणीय प्रभाव बारे प्रभावित क्षेत्रका बासिन्दाले राय दिन सक्ने गरी सार्वजनिक आवहान भएको जानकारी दिएका छन् ।
वातावरणीय प्रभाव प्रतिबेदनमा साविकको ताप्लेजुङ नगरपालिका सहित साविकका हाङ्देवा, फुरुम्बु, लिङ्खिम, तापेथोक ,लेलेप र ओलाङ्चुङगोला गाविसलाई मुख्य प्रभाव क्षेत्र ठानिएको छ ।
नयाँ संरचना अनुसार फुङ्लिङ नगरपालिकामा साविक ताप्लेजुङ नगरपालिकामा रहेका साविक फुङ्लिङ र दोखु गाविस सहित हाङ्देवा, फुरुम्बु र फावाखोला मिसाईएको छ भने फक्ताङ्लुङ गाउँपालिकामा लिङ्खिम, तापेथोक, लेलेप र ओलाङ्चुङगोला सहित साविकका सावादिन, खेजेनिम, ईखाबु गाविस मिसाईएको छ ।
वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम प्रस्तावित प्रतिबेदन उतार गरी हेर्न वा लेजान सक्ने व्यवस्था रहेको छ । यता वातावरण संरक्षण नियमावली २०५४ को नियम ११ (२) बमोजिम प्रस्तावित प्रतिबेदनमा राय सुझाव पेश गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।











प्रतिक्रिया