नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको सुकौरामा मुलुकको ठूलोमध्ये एक शिवम् सिमेन्टको खानीमा प्रयोग गरिएका ५ वटा एक्साभेटरमा शुक्रबार विहान करिब ३ बजे अज्ञात समूहले आगो लगाएको छ ।
प्रहरीका अनुसार बा.२ क १२५, बा. २ क १२६, बा. १ क ९५८२, बा. १ क ९५८३ र बा. २ क २८७७ नम्बर एक्साभेटरमा पेट्रोल खन्याएर आगो लगाइएको हो । आगो लगाइएका एक्साभेटरहरु मोर्डन इन्फ्रास्ट्रक्चर कम्पनी प्रालिको भएको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वसन्तकुमार लामा पुग्नुभएको छ । एसपी लामाले ३ वटा नया“ एक्साभेटरलाई केही नगरी पुराना एक्साभेटरमा आगो लगाइएको पाइएको बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानले उक्त घटना शिवम् सिमेन्टस“ग असन्तुष्टहरुबाट गरिएको देखिएको एसपी लामाको भनाइ छ । ‘विस्तृतमा अध्ययन गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।
सुकौरामा रहेको खानी क्षेत्रमा सञ्चालनरत् करिब ४ करोड मूल्यका एक्साभेटरमा आगजनी भएको हो । खोटारस्थित खानी क्षेत्रमा रहेका ८ मध्ये ५ वटा एक्साभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शिवम् सिमेन्ट उद्योगको खानी रहेको क्षेत्र मकवानपुरगढी गाउ“पालिका वडा नंं ७, सुकौरामा अज्ञात समूहले एक्साभेटरमा आगो लगाएपछि उद्योगका निर्देशक रघुनन्दन मारुले यो हतास मानसिकताको उपज भएको टिप्पणी गर्नुभएको छ । उहाँले करोडौंको क्षति हुने गरी यसरी आगो लगाइनु दुःखद् भएको बताउनुभयो ।
आगो कसले लगायो भन्ने नखुलेको बताउ“दै मारुले यो आपराधिक कार्य भएको बताउनुभयो । स्थानीय प्रशासन र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र त्यसपछि मात्र यस विषयमा थप कुरा बाहिर आउने उहाँले बताउनुभयो ।











प्रतिक्रिया