बिष्णुप्रसाद भण्डारी, अछाम
जिल्लामा बिकास निर्माणका क्रममा हुने अनियमितता र भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता व्यक्त गर्दै अछाम जिल्लाका राजनीतिक दल लगायत सरोकारवालाले सम्पूर्ण खाले अनियमितता र भ्रष्टाचार बिरुद्ध प्रतिबद्धता जनाएका छन् ।
आज रेडियो सोसाइटी एफएमले सदरमुकाम मंगलसेनमा आयोजना गरेको अनियमिततामा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाहले भ्रष्टाचार र अनियमितता न्युनिकरणका लागि सबै क्षेत्रको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।
बिशेषतः राजनीतिक नेतृत्व ईमान्दार बन्नु पर्नेमा जोड दिदै शाहले कर्मचारी तन्त्र पनि उत्तिकै जिम्मेवार बन्न सकेमा मात्र मुलुकलाई भ्रष्टार रहित बनाउन सकिने प्रष्ट पार्नुभयो । यसका लागि सबैले आ–आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्नु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले भ्रष्टाचार र अनियमितता हुन नदिन प्रत्येक नागरिक सचेत हुनु पर्नेमा जोड दिनुभयो । साथै भ्रष्टाचार नियन्त्रणका लागि आफु सदैव प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यस्ता कामका लागि आगामी दिनहरुमा पनि आफ्नो प्रयास जारी रहने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण र नियमनका प्रयासहरु सरकारले नियमित रुपमा गर्दै आएको बताउँदै उहाँले आगामि दिनमा पनि यसको निरन्तरता कायम हुनेमा बिश्वास दिलाउनुभयो । कार्यक्रममा स्थानीय बिकास अधिकारी तोयानारायण सुबेदीले पनि भ्रष्टार र अनियमितता बिरुद्ध प्रतिबद्धता व्यक्त गर्नुभएकोछ ।
जिल्ला समन्वय समितिबाट सञ्चालित हरेक क्रियाकलाप अनियमितता रहित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस अछामका सचिव नमबहादुर शाही, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओबादी केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य बमबहादुर रावत, राप्रपाका बरिष्ट नेता तेजबहादुर बिष्ट, नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सचिव काँशिराम जैशी, नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला कमिटी सदस्य लोकेन्द्र शाही लगायत राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाले समेत भ्रष्टाचार र अनियमितता बिरुद्ध एक जुट भएर लाग्ने बचनबद्धता सहित आ–आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् ।











प्रतिक्रिया