नेपाल समाचारपत्र, बाँके । बाँकेमा नागरिकता सँगसँगै राहदानी बनाउने गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्यांकले नागरिकता बनेलगत्तै राहदानी बनाउने गरेको देखाएको छ ।
माघदेखि चैत्रसम्ममा बाँकेबाट तीन हजार २६ जनाले नागरिकता लिएका छन् । यसमा वैवाहिक अंगीकृत लिने एक सय ५३ जना छन् । बाँकेमा नेपालगञ्ज, नरैनापुर र कोहलपुर इलाका प्रशासन कार्यालयबाट नागरिकता उपलब्ध गराइन्छ ।
जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जकै हाराहारीमा इलाका प्रशासन कार्यालय, कोहलपुरबाट नागरिकता वितरण हुने गरेको छ । यो अवधिमा नेपालगञ्जबाट एक हजार आठ सय २१ जनाले नागरिकता बनाएका छन् । कोहलपुरबाट एक हजार ६९ र नरैनापुरबाट एक सय ३६ जनाले नागरिकता लिएका छन् ।
बाँकेबाट नागरिकताको प्रतिलिपि लिने एक हजार चार सय ५१ जना छन् । नेपालगञ्जबाट एक हजार दुई सय २४ र कोहलपुरबाट २ सय २७ जनाले प्रतिलिपि लिएका छन् । ठूलो जनसंख्याको बसोबास रहेको कोहलपुरमा इलाका प्रशासन कार्यालय राखेको लामो समय भएको छैन ।
नागरिकतासँगै राहदानी बनाउने क्रम अझै रोकिएको छैन । रोजगारीका लागि विदेश जानेको संख्या नघटेको यसले पनि देखाउँछ । साधारण तरिकाले बाँकेबाटै यो अवधिमा एक हजार ५ सय ६२ जनाले नागरिकता बनाएका छन् । नेपालगञ्जबाट एक हजार तीन सय ५९ र कोहलपुरबाट २ सय ३ जनाले राहदानी लिएका छन् । दु्रतसेवाका लागि ५ सय ७३ जनालाई सिफारिस गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, नागरिकता बनाएर तत्काल नै राहदानी बनाउन खोज्नेमा महिलाको संख्या पनि ठूलो रहेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार, साउनदेखि चैत्रसम्ममा ८ हजार ७ सय ३९ जनाले नयाँ नागरिकता लिएका छन् । चार हजार २ सय ३५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यो अवधिमा ५ हजार ९ सय २३ ले राहदानी लिएका छन् । एक हजार ८ सय ५६ जनाले दु्रत राहदानीका लागि सिफारिस लिएका छन् ।
राहदानी वितरण गरेर प्रशासनले यो अवधिमा दुई करोड ५३ लाख ५० हजार रुपैया राजश्व संकलन गरेको छ । प्रशासनले साधारण राहदानीका लागि पाँच हजार, पहिले बनाएको राहदानी हराएको वा बिग्रेमा पाँच हजार रुपैया लिने गर्दछ ।











प्रतिक्रिया