नमुना वडामा महिला मात्रै उम्मेदवार



मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्लामा रहेका १३ वटा स्थानीय तहका १ सय ३५ वडा मध्ये पाँचखाल नगरपालिका वडा नम्वर ३ नमुना वडाका रुपमा चिनिएको छ ।

महिला मैत्री वडाका रुपमा विकास गर्ने उदेश्यले नेकपा एमालेको तर्फबाट उक्त वडामा पाँचवटै पदमा महिलाहरुको उम्मेदवारी दर्ता गरिएको छ ।

साविक पाँचखाल नगरपालिकाको वडा नम्बर ४ जहाँ नगरपालिकाको कार्यालय रहँदै आएको छ । पाँचखालको मुटु समेत मानिएको समाजकल्याण चोक, लाम्डी, रामपुर, थुम्का, काफ्लेडी लगायतको क्षेत्रमा पर्ने पाँचखाल वडा नम्वर ३ मा १ हजार ३ सय ६४ मतदाता रहेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति समेत गरी ५ दलका उम्मेदवारहरुले उक्त वडाबाट प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धामा नेकपा एमालेले भने महिलाहरुलाई सबै पदमा प्रतिस्पर्धामा उतारेको छ । वडा कमिटी अध्यक्ष शालिकराम (फाल्गुण) प्रसाद दाहालका अनुसार प्रतिस्पर्धामा पुरुष चार र महिला दुई अध्यक्षका उम्मेदवार भए पनि जिल्ला कमिटीले महिला मैत्री वडाका रुपमा विकास गर्न सबै पदमा महिलाहरुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले अध्यक्ष पदमा विमला शर्मा अधिकारी, खुल्ला सदस्य पदमा रोहितकुमारी हुमागाई र पार्वती लुईटेल, महिला सदस्यमा निरु नेपाल, दलित महिला सदस्य पदमा मैना सार्कीलाई उम्मेदवार बनाएको छ ।
प्रतिस्पर्धामा निरु र विमला सहित अन्य चार पुरुष उम्मेदवार थिए । वडा र नगर कमिटीमा समेत सर्वसम्वत उम्मेदवार छनौट गर्न नसकेपछि जिल्ला कमिटीमा पठाईएको थियो । जिल्ला कमिटीले चार जना महिला सर्वसम्वत भएको स्थानमा अर्की महिलालाई अध्यक्ष बनाएर पाँच पदमै महिला उम्मेदवार बनाएको हो ।

अध्यक्षमा प्रतिस्पर्धामा रहेकी विमला जिल्ला विकास समितिको सामाजिक परिचालकका रुपमा १० वर्ष कार्यरत ब्यक्ति हुन् । उनी राजनीतिमा उतिक्कै सक्रिय थिईन् ।

पछिल्लो समय अनेमसंघको नगर कमिटी अध्यक्ष थिईन् । सामाजिक काममा कृयाशिल विमला सहकारी तथा अन्य विकासका काममा अग्रणी महिला हुन् । अर्की उम्मेदवार निरु नेपाल एमालेको विभिन्न संगठनमा रही अनेमसंघको क्षेत्रिय सदस्य हुँदै अध्यक्ष, वडा नागरिक मञ्चको उप संयोजक, संयोजक, सहकारीको शेयर सदस्य हुँदै संचालक र सामाजिक क्षेत्रकी कृयाशिल ब्यक्ति हुन् ।

त्यस्तै रोहितकुमारी हुमागाई र पार्वती लुईटेल पनि सामाजिक क्षेत्रका कृयाशिल ब्यक्तित्व हुन् । अगुवा महिलाहरु मध्ये उनिहरु नेतृत्वदायी भूमिकामा थिए ।

सहकारीको संचालक भई महिलाहरुको आय आर्जन बृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेकैले उक्त वडालाई महिला मैत्री वडाका रुपमा विकास गर्न उनिहरुले नेतृत्व गर्ने साहस देखाएका छन् । दलित महिलाबाट उम्मेदवार बनाईएकी मैना उक्त समुदायकी अग्रणी महिला हुन् ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न तहमा महिला सदस्यका लागि ४ सय ९६ र दलित महिलाका लागि ४ सय १ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्