नेपाल समाचारपत्र, हेटौंडा । वडा कार्यालयबाट चौहद्धी सिफारिसका लागि उपमहानगरपालिका कार्यालय पुगेपछि सुरुमा भवन इजाजत शाखा जानुपर्छ । त्यहाँ वडाबाट ल्याइएको कागजमा तोक लगाएपछि तल ओर्लिनुपर्छ । तल ओर्लिएर दर्ता गरेपछि फेरि माथिल्लो तला उक्लिनुपर्छ ।
त्यहाँ कागज तयार हुन्छ । त्यसपछि १०९ नम्बर कोठामा रसिद काट्न फेरि तल झर्नुपर्छ । त्यहाँ रसिद काटेपछि फेरि माथिल्लो तला उक्लिनुपर्छ । माथिल्लो तलामा सही गरिसकेपछि फेरि तल्लो तलामा ओर्लिनुपर्छ र त्यहाँ छाप लगाएर चलानी गरेपछि सिफारिस लिन सकिन्छ ।
सेवाग्रहीमैत्री हुनुपर्ने स्थानीय निकाय सेवाग्राहीका लागि सकसपूर्ण बन्न थालेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय पुग्ने जोसुकै सेवाग्राही पनि दिक्क हुन थालेका छन् ।
एउटा सामान्य सिफारिसका लागि एक जना सेवाग्राही पटकौं चोटी तलमाथि गरिरहनु पर्छ । शारीरिकरुपमा स्वस्थ्य मानिसलाई त तल÷माथि गर्दा भाउन्न छुट्छ भने शारीरिक अशक्त र वृद्धवृद्धालाई तल÷माथि गर्न कम्ति सकस छैन । भनेको बेला कर्मचारी कुर्सीमा नभेटिने भएपछि सेवाग्राही झन तनावमा पर्ने गरेका छन् ।
जसलाई जतिबेला जुन कोठामा जुनसुकै शाखा राख्न मन लागेपनि स्वतन्त्र छ । सेवाग्राहीलाई कति मार पर्छ भन्ने सोच गरेको पाइँदैन । स्थानीय सरकारका रुपमा उपमहानगरले सेवा दिइरहेको छ । तर, सेवा लिने मान्छे पटक्कै सन्तुष्ट हुन सकेको छ्रैनन् ।
उपमहानगरपालिकाले अर्को महत्वपूर्ण शाखालाई तेस्रो तलामा राखेको छ । सामाजिक विकास महाशाखालाई तेस्रो तलामा राख्दा यो शाखामा समेत सेवाग्राहीहरुको सहज पहुँच छैन ।
सामाजिक सुरक्षा भत्तालगायतका काम गर्न सेवाग्राहीहरु त्यहाँ पुग्नुपर्छ । टोल विकासहरुसँग समन्वय गरी सामाजिक उत्तरदायित्वका अन्य थुप्रै काम गर्नुपर्ने महाशाखामा तेस्रो तलामा किन राखिएको हो, त्यसको जवाफ कसैसँग छैन ।
उपमहागनरपालिकामा अर्को सेवाग्राहीसँग जोडिएको योजना महाशाखा हो । बाटोघाटोलगायतका उपमहानगरभित्रका विकास निर्माणको सबै काम यहीबाट हुने गरेको छ । यो उपमहानगरपालिकाको चौथो तलामा छ ।
खासमा यो महाशाखा पनि सेवाग्राहीको पहुँचमा हुनुपर्छ । तर, छैन । उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बिग्रिएका ठाउँमा करेक्सन गर्ने प्रतिवद्धता जनाएका छन् ।











प्रतिक्रिया