सुत्केरी स्याहार केन्द्र निर्माण सम्पन्न

0
Shares

रविन भट्टराई, ताप्लेजुङ
जिल्ला अस्पताल ताप्लेजुङमा मातृशिशु तथा सुत्केरी स्याहार केन्द्र (सीईओसी) भवनको निमार्ण कार्य पूरा भएको छ। मुल्य अभिवृद्धि करबाहेक १ करोड ११ लाख ८३ हजार ९ सय २० रुपियाँबराबरको लागतमा एकतले भवन निमार्ण कार्य पूरा भएको हो। २०७१ साल पुस २० गते सौवर्ण निमार्ण सेवा ताप्लेजुङसँग भवन निमार्णका लागि डिभिजन कार्यालय इलामले सम्झौता गरेको थियो। निमार्ण सम्पन्न भएको भवनको बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ। सौवर्ण निमार्ण सेवाका इन्द्र केदेमले जिल्ला स्वास्थ्य कार्यालयलाई नव निर्मित भवन हस्तान्तरण गरिने बताए। निमार्णाधीन भवनले सेवा वितरणका लागि अस्पतालमा भवनको अभाव टार्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर दिग्विजय ठाकुरले जानकारी दिए।

यसैबीच स्वास्थ्य मन्त्रालयले शुरु गरेको मेरो वर्ष, म स्वास्थ्य, मेरो देश स्वास्थ्य अभियानका विषयमा जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले बिहीबार अनुशिक्षण गराएको छ। मन्त्रालयले शुरु गरेको अभियानका विषयमा जिल्ला स्वास्थ्य कार्यालयका डा. सोनिङ लामा, उत्तम पच्या र दीपक बञ्जाडेले प्रकाश पारेका थिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. दिग्विजय ठाकुरले स्वस्थ्य नागरिक बनाउने यो अभियानमा साथ दिन उपस्थित सामू आग्रह गरेका थिए।

कार्यक्रममा जिल्ला अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष केशकुमार मेन्याङ्बो,ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, जिल्ला रेडक्रसका सभापति गणेश अधिकारीसहित स्वास्थ्यकर्मीको बाक्लो उपस्थिति थियो।