झापामा स्वास्थ्य अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र
भद्रपुर
झापामा बिहीबारदेखि मेरो वर्ष २०७४ म स्वास्थ्य, मेरो देश स्वास्थ्य अभियान शुरू गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मेची अञ्चल अस्पताल भद्रपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै अभियान शुरू गरेको जनाइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १ गते अभियानको शुरू गरेलगत्तै झापामा वैशाख २१ गतेबाट अभियान शुरू भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधूसुदन कोइरालाले जानकारी गराए।

अभियानमा म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, नियमित शारीरिक व्यायाम गर्छु, स्वच्छ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गर्छु , मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, भन्ने स्वास्थ्य जीवनको बारेमा पाँचवटा प्रतिवद्धता समावेश गरिएको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए।

कार्यालयका फोकल पर्सन ब्रजेश मेहताले स्वास्थ्य अभियानका बारेमा जानकारी गराउँदै सरोकारवाला निकायसंग सहकार्यमा स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रमलाई स्वास्थय प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतमा रहेका रोगहरूको पहिचान र रोकथामका लागि प्याकेज निर्माण गर्ने।

स्वास्थ्यसम्बन्धी दिवसहरूमा दिवस केन्द्रित कार्यक्रममार्फत नसर्ने रोगको जनचेतना विस्तार गर्ने, विद्यालयहरूमा प्रारम्भिक परीक्षण र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सरकारी तथा निजी अस्पतालको सहकार्यमा स्वास्थ्य प्याकेज उपलब्ध गराउने र मेरो वर्ष मोबाइल एप्समार्फत स्वास्थ्य जानकारी गराउनेलगायतको विषय रहेको जानकारी गराए। कार्यालयका प्रमुख मधूसुदन कोइरालाको अध्यक्षता तथा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवाला, स्वास्थ्यकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।