भारतीयले गरेको अपराध



कुमार श्रेष्ठ, बाँके
चुनाव नजिकिँदै जाँदा बाँकेका सुरक्षा अधिकारीहरू खुला सीमाना नै चुनौतीको विषय मान्छन्। चुनावमा आपराधिक समूहको घूसपैठलाई नै सुरक्षा चुनौती मानेका अधिकारीले भारतीय उच्च अधिकारी र सीमामा तैनाथ कमान्डरहरूसँग चरण–चरणमा छलफल गरिरहेका छन्। यद्यपि, भारतमा चुनाव हुँदा पनि नेपालतर्फबाट हुन सक्ने अपराधलाई ध्यानमा राखेर नाका बन्द गर्ने गरिन्छ।

चुनावलाई बढी ‘तारगेट’ गरेर अहिले सुरक्षा छलफलहरू भए पनि खुला सीमाना अपराधका हिसाबले बाहै्रमास चुनौतीको विषय बन्ने गरेको तथ्यांकले देखाएको छ। भारतीयले नेपालमा आएर लागूऔषध र हतियारको कारोबारदेखि करणी, हत्या र अपहरण गर्ने गरेका छन्। चालू आर्थिक वर्षको चैत्रसम्ममा ४८ जना भारतीयले विभिन्न अपराधमा नेपालगन्ज कारागारमा सजाय काटिरहेका छन्। नेपालगन्ज कारागारमा दुई जना बंगलादेशी र एक जना पाकिस्तानी पनि रहेको जेलर श्याम लामिछानेले जानकारी दिनुभयो।

कारागार शाखा, नेपालगन्जका अनुसार, लागूऔषध, कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धकमा बढी भारतीय संलग्न छन्। डाँका चोरी, जबरजस्ती करणी, मानव बेचबिखन, हातहतियार, गौवधमा पनि भारतीय संलग्न छन्। जेलर लामिछानेका अनुसार, लागूऔषधमा १९, कर्तव्य ज्यानमा ५, अपहरण तथा शरीर बन्धकमा ४, जबरजस्ती करणमा २, डाँका चोरी, हातहतियार र मानव बेचबिखनमा एक⁄एक जना रहेका छन्। नागरिकता काण्डका बंगलादेशी र पाकिस्तानी पनि कारागारमा रहेका छन्।

पक्राउ परेकाबाहेक भारतीयले नेपालगन्जमा साना ठूला तस्करी गरिरहेको भुक्तभोगीहरू बताउँछन्। लागूऔषध र हतियार घरमा ल्याइदिएको जसरी भन्सार छलीका मालसामान र निषेधित कुखुरा र चल्लाहरू भारतीयले नै ओसार्छन्।
सामान्य व्यापार संघको चुनावमा भारतीय आपराधिक समूहले नेपालगन्जमै आएर मान्छे मार्नेदेखि गोली हानेर भाग्ने गरेको घटनाहरू भइसकेकाले आसन्न चुनावमा अधिकारीले खुला सीमानालाई बढी सुरक्षा चुनौती महसुस गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले तीन वटा सुरक्षा रणनीति बनाएर सहज रूपमा अघि बढिरहँदा खुला सीमाना अलि चुनौतीपूर्ण मानिएको बताउनुभयो। ‘हाम्रो यहाँको चुनौती खुला सीमाना नै हो, त्यसका लागि हामीले उताका अधिकारीहरूसँग छलफल गरिरहेका छौं’ –प्रजिअ पन्थले भन्नुभयो।
नाकामा रहेका प्रहरी अधिकृतहरूले पनि पारीका समकक्षीसँग निरन्तर छलफल गरेर निगरानी बढाएका छन्। निरन्तर संयुक्त गस्तीको तयारी भइरहेको छ। पारीबाट आउने अपराधीलाई रोक्न सकेमा चुनाव शान्तिपूर्ण हुने अधिकारीहरूको निष्कर्ष रहेको छ।

नेपाली र भारतीय मिलेर अपहरण गर्ने र भारतमा लगेर राख्ने अर्को चुनौती रहेको छ। नेपालगन्जका दुईवटा यस्ता घटना अहिलेसम्म बाहिर आएको छैन। अपराध गरेका भारतीय मात्रै नेपाली जेलमा छैनन्, पारि बहराइचस्थित भारतीय जेलमा पनि चरेशका बोकेका थुप्रै नेपालीले सजाय काटिरहेका छन्। केही अगाडिको तथ्यांकअनुसार त्यहाँ ७१ जना नेपाली थिए।

दैनिक थपिन्छन्, बन्दी
नेपालगन्ज कारागारमा दैनिक एक बढी बन्दी थपिने गरेका छन्। चैत्र मसान्तसम्ममा ६ सय ६२ जना बन्दी रहेको कारागारमा वैशाखमा १८ जना थपिएका छन्। जेलर श्याम लामिछानेका अनुसार, कारागारमा अहिले ६ सय ८० जना कैदी⁄थुनुवा रहेका छन्। नेपालगन्ज कारागारमा लागूऔषध, कर्तव्य ज्यान र करणीका कैदी⁄थुनुवा धेरै रहेका छन्।
१ सय ५० जनाको क्षमता रहेको कारागारमा तीनवटा हल निर्माण गरेर ३ सय जना अट्ने बनाइएको छ। त्यही नै ६ सय ८० जना कोचिएर बसेका छन्। दैनिक थपिने कैदी⁄बन्दीको दरलाई हेर्दा समाजमा आपराधिक प्रवृत्ति बढिरहेको छ। कारागार प्रशासनका अनुसार, लागूऔषधमा १ सय ६९, कर्तव्य ज्यानमा १ सय ६५, जबरजस्ती करणीमा ९९, डाँका चोरीमा ५१, अपहरण तथा शरीर बन्धकमा ४१, मानव बेचबिखनमा ३९, ज्यान मार्ने उद्योगमा २९ जना कैदी⁄थुनुवा रहेका छन्।

नेपालगन्ज कारागारमा दैनिक बन्दी बढिरहेका छन्। वैशाख १५ गते सूचना अधिकारी तथा पत्रकारबीचको भेटघाटमा चैत्रसम्ममा ६२ जना कैदी⁄बन्दी रहेको तथ्यांक पेस गरिएकोमा वैशाख २० गतेसम्ममा १८ जना बढिसकेका छन्। ‘आउने–जाने भइरहन्छ, धेरै आउँछन् भने थोरै जान्छन्’ –कारागारका कर्मचारी भन्छन्।

प्रतिक्रिया दिनुहोस्