टिनको छानामै बित्यो एक वर्ष

0
Shares

अनिल खत्री, गुल्मी
झन्डै १ वर्ष पहिले नजिकै सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिँदा सिंगो गाउँ नै जलेर नष्ट भएको थियो। गत वैशाख १८ गते बडागाउँ १ र २ का दजाकोट र माझगाउँको सिंगो बस्ती नै जलेर ध्वस्त भएको थियो। एउटा बर्खा कट्यो अहिले गाउँ फेरिएर उस्तै उस्तै बन्न थालेको छ।

आगलागीबाट वडागाउँ–१ दजाकोटकी हरिकला रासकोटील आगोमा श्रीमान् मात्र गुमाइनन् सम्पूर्ण श्रीसम्पत्ति पनि रहेन। ‘त्यो दिन सम्झन सक्दिनँ जबकि मेरा श्रीमान् र सम्पत्ति नै रहेन’, उनले भनिन्– ‘टिनको छाप्रोमै एक वर्ष बित्यो।’ घर बनाउँदै गरेका साविकको वडागाउँ–१ का जुक्तबहादुर छन्तेलले तत्कालीन परिस्थिति सबैले बिर्सिएका कारण अग्निपीडित छाप्रोमै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको बताए। ‘गाउँमा कर्मी, ढुंगा र युवा छैनन्, त्यो बाध्यता कसले बुझ्ने’, उनले भने– ‘घर बनाउन काठ र पानीको पनि निकै समस्या रहेको छ।’
आगलागीबाट वडागाउँमा ५८ घर पूर्ण क्षति भएका थिए।

आगलागीको तत्कालीन समयमा जिल्लाका विभिन्न स्थानबाट १ करोड ८२ लाख रकम संकलन भएको थियो। त्यो रकम वडागाउँ अग्निपीडित राहत संकलन तथा वितरण समितिको खातामा रहेको समितिका कोषाध्यक्ष हरि छन्तेलले बताए। यूके समाज गुल्मी, कुर्घा जापान सेवा समाज, वामी जापान सेवा समाजलगायत स्वदेश एवं विदेशका संघसंस्था र व्यक्तिबाट झन्डै २ करोड संकलन भएको थियो। सो रकम वडागाउँ अग्निपीडित राहत संकलन तथा वितरण समितिको खातामा ग्लोबल बैंक र साना किसान कृषि सहकारी संस्थामा राखिएको छ।
अग्निपीडित राहत संकलन तथा वितरण समिति वडागाउँका कोषाध्यक्ष हरि छन्तेलका अनुसार एकैचोटि सबैका घर निर्माण गर्न त सम्भव छैन तर केही घर निर्माण गर्न पनि पानी र काठ र ज्यामीको चरम समस्या रहेको बताए। पानी काठ र कामदार प्रशस्त पाए केही घरहरू बर्खा अघि निर्माण गर्न सकिने छन्तेलले बताए।

वडागाउँमा ‘क’ वर्गका अग्निपीडित २८, ‘ख’ वर्गका २४ र ‘ग’ वर्गका ६ जना रहेका छन्। उनीहरूले क्रमशः ३ लाख ३५ हजार, २ लाख ७० हजार र २ लाख २५ हजार राहत पाउने निर्णय भएको छ। त्यस्तै आंशिक क्षति भएका गोठ बंगाला १६ जना छन्। उनीहरूले जम्मा ६० हजार पाउने निर्णय भएको छन्तेलले बताए। छन्तेललका अनुसार दुई महिनाअघि बसेको बैठकले पन्ध्र⁄पन्ध्र दिनमा प्राविधिकले अनुगमन गरेर प्रतिवेदन तयार भएपछि भुक्तानीको प्रक्रिया अघि बढिरहेको बताए । उनका अनुसार हालसम्म घर निर्माणका लागि ‘क’ वर्गका २८ घरले ३ लाख ३५ हजार रकम पाएका छन्। ‘ख’ वर्गका २४ परिवारले २ लाख ७० हजार रकम पाएका छन् भने ‘ग’ वर्गका ६ घरले २ लाख २० हजार पाएका छन्।

Skip This