५० संशोधन माथि संशोधन प्रस्ताव

0
Shares

काठमाडौं, (नेस)
सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयकमाथि ५०वटा संशोधन प्रस्ताव दर्ता भएको छ। संशोधनमाथि संशोधन दर्ता गराउने म्याद शनिबार राति १० बजेसम्म थियो।

प्रतिपक्षी दलका सांसदहरूले ४९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन दर्ता गराउनेहरूमा प्रतिपक्षी एमालेका सांसद भरतमोहन अधिकारी, डा. राजन भट्टराई, रवीन्द्र अधिकारी, कृष्णभक्त पोखरेल, नेमकिपाका प्रेम सुवाल र नयाँ शक्तिकी गंगा सत्गौवालगायत रहनुभएको छ।

संशोधन प्रस्तावमा विशेष गरेर, भाषा, नागरिकता, प्रदेश सीमांकन र प्रदेशसभा गठनमा बढी संशोधन परेको संसद् सचिवालयका प्रवक्ता डा. भरत गौतमले बताउनुभयो। संविधानको दोस्रो संशोधन विधेयकको दफा ४, ५, ६, ७, ८६, २७४, २९६ लगायतमा संशोधन दर्ता परेको छ।

सत्तारूढ चार दलमध्ये तीन दल, कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत, राप्रपाका प्रमुख सचेतक कुन्ती शाही र राष्ट्रिय जनता पार्टी नेपालका जंगीलाल रायले सत्तारूढ दलका तर्फबाट पाँच विषयमा संयुक्त संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिपक्षी १६ वटा राजनीतिक दलका सांसदहरूले व्यक्तिगत रूपमा ४९ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

कानुन मन्त्री अजयशंकर नायकले सरकार र मधेसी मोर्चाले संयुक्तरूपमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताउनुभयो। सीमांकन आयोगमा समानुपातिक समावेशी बनाउने विषयमा प्रस्ताव दर्ता गराएको बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भाषालगायतका पाँच विषयमा संशोधन प्रस्ताव दर्ता गराएका छौं।’

नेकपा माओवादी केन्द्रका टेकबहादुर बस्नेतले पाँच विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको बताउनुभयो। उहाँले समावेशी समानुपतिक सिद्धान्तको आधारमा संघीय आयोग गठन गर्ने, केही ठाउँमा रहेको सबै र परामर्श भन्ने शब्दावली हटाएर प्रस्ताव दर्ता गराएको बताउनुभयो। संविधान संशोधन प्रस्ताव दर्ता गर्नुअघि कांग्रेस, एमाले र मधेसी मोर्चाबीच संयुक्त छलफल भएको थियो।

Skip This