चितुवाको छालासहित पक्राउ

0
Shares

बैतडी, (नेस)
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहले डडेल्धुराबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका सकार घर भई हाल डडेल्धुरा अमरगढी नगरपालिका–६ चिमरे बस्दै आएका ६० वर्षीय करिबरदत्त भट्टराई रहेका छन्। भट्टराईलाई चितुवाको छाला बिक्रीका लागि हिँडिरहेका भनी गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजे डडेल्धुरा अमरगढी नगरपालिका–७ पोखराबाट पक्राउ गरेको हो।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक केशव जोशीको कमान्डमा खटिएको टोलीले पक्राउ परेका भट्टराईको साथबाट ८ फिट लम्बाइ र २ फिट चौडाइ भएको चितुवाको छाला बरामद गरेको हो। चितुवाको छालासहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामार्फत् जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाइने बताइएको छ।

भट्टराईले २ वर्ष अगाडि स्थानीय जंगलमा गोली लागी मृत अवस्थामा फेला परेको चितुवाको छाला घरमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यसअघि वैशाख ६ गते पनि सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोलीले बैतडीको शिवनाथ गाउँपालिका–६ का ३३ वर्षीय महेशसिंह सुतारलाई चितुवाको छालासहित बैतडीको पाटनबाट पक्राउ गरेको थियो।

Skip This