कान्छी उम्मेदवार भन्छिन्, “काठमाडौंको मेयर जित्ने पक्का”



उमेरले भर्खरै २१ काटेकी रञ्जु दर्शना आगामी स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तयारीमा छिन्। विवेकशील नेपाली दलको तर्फबाट दर्शना यही वैशाख ३१ गते हुने चुनावमा भिड्दै छिन्।

काठमाडौंको महाराजगन्ज निवासी दर्शना हाल विकास अध्ययन विषयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन्। उनै दर्शनासँग निर्वाचनका एजेन्डाका विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि प्रशान्त वलीले लिनुभएको अन्तरवार्ताको सारसंक्षेपः

कसरी राजनीतिमा छिर्नुभयो ?

पारिवारीक पृष्ठभूमि राजनीतिमा नभए पनि मेरा दाइहरु राजनीतिमा सचेत हुनुहुन्थ्यो। म उहाँहरुबाट राजनीतिक माहोलको कुरा सुन्थे। उहाँहरुले कुरा गर्दा राजनीतिक कूसंस्कारको कुराहरु हुन्थ्यो। त्यस्ता कुराहरु सुन्दा मन पिरोल्थ्यो। नेपाल बन्दका कुराहरु हुन्थे यस्ता कुरा नभए हुन्थ्यो, स्कुल जान पाए नि हुन्थ्योजस्तो लाग्थ्यो। राजनीतिक वितृष्णाको कुरा गर्दा त्यही वितृष्णा फेर्नका लागि समस्या जहाँ हुन्छ समाधान पनि त्यहींबाट आउनुपर्यो नि त। त्यसैले म राजनीतिमा समाधान बनेर आएकी छु।

तपार्इंको उम्मेदवारीलाई लिएर केहीले काँचो मान्छेले के गर्न सक्छ र भन्ने आरोप पनि लगाउँछन् नि ?

यहाँ उमेरबारे चर्चा गरिरहनुपर्ने औचित्य म देख्दिनँ। किनभने मैले कानुन मिचेर उम्मेदवारी दिएकी पनि होइन। सबैलाई स्मरण रहोस् नेपालको संविधान र कानुनअनुसार नै २१ वर्षभन्दा माथिकाले मेयरमा उम्मेदवारी दिन सक्छन्। जब कानुनले मलाई स्वीकृत गरेको छ भने यस्ता प्रश्नहरु उठ्नु जरुरी छैन। आरोप किन लगाउँछन् भन्दा हामी कुन राजनीतिक संस्कारबाट हुर्किरहेका छौं भन्ने बुझ्न जरुरी छ। हामी ५० वा ६० वर्षका मानिसले मात्र राजनीति गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित छौं।

युवाले राजनीतिक सक्रियता देखाउनुभनेको सडकमा ढुंगामुडा गर्नु अनि टायर बाल्नु भन्ने बुझ्ने गरिन्छ। यहाँ जुन कूसंस्कारले जरो गाडेको छ, त्यही भएर यस्ता प्रश्नहरु आइरहेका छन्। तर, अब यी प्रश्नहरुका लागि प्रश्न बनाउन जरुरी छैन। त्यो परिवर्तन हुन सम्भव छ। हामी त्यो परिवर्तन गर्ने प्रतिबद्धता गर्दछौं। र, अर्को कुरा म प्रतिस्पर्धामा उत्रिएर ७ जनालाई पछि पार्दै खुला उम्मेदवार नीतिबाट छानिएकि हुँ। अनुभवलाई नाप्न सकिँदैन तर जुन पृथक राजनीतिक अनुभव मसँग छ त्यो युवाहरुलाई अनुभवको आधारमा अड्काउने हो भने कोही पनि युवा नै रहँदैन। किनभने अनुभव बटुल्दाबटुल्दै युवा अवस्था नै पार हुन्छ। त्यसैले युवालाई अनुभव सधैं होइन, अवसरले नै अनुभव दिने हो।

म इन्द्रचोकमा लस्सी खाएर बसिरहेकी थिएँ। करिब ६० वर्षकि आमा आउनुभयो र मलाई एकोहोरो हेरिरहनुभयो। अनि नजिक आई स्याबास छोरी, विजयी भएस् भन्नुभयो। हामीलाई हजुरआमा पुस्ताको आशिर्वाद, आमा पुस्ताको सहयोग अनि हाम्रो पुस्ताको उर्जा चाहिएको छ। अनि, धेरै हद सम्म पाएका पनि छौं।

तपार्इं किन मेयरकै उम्मेदवार बन्नुभएको ?

मेरो अहिले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिन अझै समय छजस्तो लाग्छ। त्यसैले मेयरका लागि उठें। म जुन शहरमा बसिरहेको छु त्यो शहर अस्तव्यस्त देखेर म यो शहर मैले बनाउन अघि सर्नुपर्छ र कोही युवा अगाडि नसरेको देखेर शुरुआत आफैंबाट गरेकी छु।

जनताले तपाईंलाई भोट किन दिने ?

पहिलो कुरा त मेरो कार्यपत्र हेर्नूस्। आगामी १३ वर्षभित्र काठमाडौंलाई मैले संसारकै सबैभन्दा सुन्दर शहर बनाउने कार्ययोजनासहित पेस गरेकी छु। मसँग त्योअनुसारको परिकल्पना र टिम छ। मसँग नेतृत्व गर्ने क्षमता मैले विभिन्न कार्यक्रममार्फत् देखाइसकेको छु। मैले नेतृत्व लिएर विभिन्न कार्यक्रम पनि गरेकै छु र त्यसबाट पनि मलाई म सक्षम छु भन्ने लाग्छ।

अरूले नगरेको के काम तपाईंले गर्नुहुन्छ ?

अरूले केही गरेनन् त्यही भएर मैले गर्न जरुरी छ। अरूले जुन गतिमा विकास गर्नुपर्ने हो, त्यसलाई आ–आफ्नो स्वार्थका लागि रोके। विकास भन्ने त सही नेतृत्व सही ठाउँमा भए, आफैं हुँदै जाने हो। तर, हामीले के गर्यौं भने त्यो गतिलाई रोक्ने प्रयास गर्यौं अनि म सायद मेरो उम्मेदवार भइसकेपछि अहिले जसरी विकास र राजनीति, जस्तो परिस्थितिबाट गुज्रिरहेको छ, त्यसलाई सही बाटोमा ल्याउँछु। अर्को भनेको २० वर्षयता निर्वाचन नभएकोमा यो पद खाली नै छ र त्यो निर्वाचित नहुनु र अर्को भने देशले कुशल नेतृत्व नजन्माएको अवस्था देख्दा मैले सही तरिकाले नेतृत्व गर्न सक्छु भनेर आफ्नो कार्ययोजनासहित नेतृत्व लिँदै छु।

वर्तमान राजनीतिक परिवेशलाई कसरी हेर्नुभएको छ ?

राजनीति भनेको त नीतिहरूको राजा हो। यहाँ नीति पनि छैन। नियत पनि छैन। नेपालको राजनीति राजनीतिजस्तो छैन। मलाई त हाम्रो राजनीति लाजनीति जस्तो लाग्छ। हाम्रो राजनीतिमा प्रमुख कुरा मै गडबडी छ। जनता र राज्यबीच एउटा ठूलो खाडल छ र अहिलेको राजनीति पूरै कूसंस्कारमा लिप्त भएर डुबिसकेको अवस्थामा छ। अब आमनागरिक र नेताहरुको दूरी हटाउँदै राजनीतिलाई सुसंस्कृत बनाउन थाल्नु छ। त्यसको अभियान अब विवेकशील तथा निष्ठावान युवाले शुरुआत गर्नुपर्छ भन्ने लाग्दछ।

घोषणापत्रमा के कुरालाई जोड दिनुभएको छ ?

हामीले केही महिनाअघि काठमाडौंका २ हजार जनालाई सर्वेक्षण गरेका थियौं। जसमध्ये काठमाडौंको प्रमुख समस्या धुवाँधूलो, यातायात, महँगी, फोहोर व्यवस्थापनलगायत हुन्। र, यहीं समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर उनीहरुकै भाषामा समाधान के–के हो भनेर सोधेका थियौं। हामीले त्यहीं समाधानलाई राजनीतिक रूप र आमनागरिकले बुझ्ने गरी सहज भाषामा बुदाँगतरूपमा हामीले टिप्पणी पनि गरेका छौं।

तपाईं जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

म शतप्रतिशत विश्वस्त छु। म हिजो इन्द्रचोकमा लस्सी खाएर बसिरहेकी थिएँ। करिब ६० वर्षकी आमा आउनुभयो र मलाई एकोहोरो हेरिरहनुभयो। अनि नजिक आई स्याबास छोरी, विजयी भएस् भन्नुभयो। हामीलाई हजुरआमा पुस्ताको आशिर्वाद, आमा पुस्ताको सहयोग अनि हाम्रो पुस्ताको ऊर्जा चाहिएको छ। अनि, धेरै हदसम्म पाएका पनि छौं।

प्रतिक्रिया दिनुहोस्