टोखामा बिस्केट जात्रा सुरु



काठमाडौँ, १ वैशाख । काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा सुरु भएको छ ।

प्राचीन संस्कृति, सभ्यता र मौलिकताले भरिएको नगरका रुपमा मानिने टोखाको बिस्केट जात्रामा स्थानीय कुमारी र गणेशलाई जात्रामा सहभागी गराइएपछि जात्रा सुरु भएको हो । प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म सञ्चालन हुने सो जात्रामा स्थानीय ठनेलाछी टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दुर हालेर जात्रा निकालिनाका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिन्छ ।

मौलिक परम्पराका साथ मनाइने उक्त जात्राका लागि अघिल्लो दिन स्थानीय देवदेवीलाई खुसी पार्न पञ्चबलिसमेत दिइन्छ । यसो गर्दा जात्रा अवधिभर बिघ्नबाधा नआउने जनविश्वास छ । यहाँको जात्रामा जिब्रो छेड्ने परम्परा भने छैन । सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न दानवीय शक्तिले सर्वसाधारणलाई दुःख दिन थालेपछि जनतालाई सुरक्षित बनाउन सो जात्राको प्रचलन सुरु गरिएको जात्रा व्यवस्थापन समितिका प्रतिनिधि देवराज डङ्गोलले जानकारी दिनुभयो ।

जात्रामा मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको सहभागिता छ । मेलामा सहभागी भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मीसहितको सहयोगमा स्थानीय क्लब तथा स्थानीय सङ्घसंस्थाको सहभागितामा स्वयंसेवक परिचालन गरिएको छ । रासस