बिस्केट जात्रामा ढुङ्गा हान्नेविरुद्ध मुद्दा


भक्तपुर, ३१ चैत । बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा बुधबार र आज बिहीबार ढुङ्गा हान्ने १३ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक मुद्दा चलाएको छ ।

आज पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ वंशगोपालका सुमन शिल्पकार, वडा नंं १७ दूधपाटीका सुमन सिन्तकला, वडा नं. १२ तौमढीका रमेश घुसाकी र राजन भेल, वडा नंं ४ डेकोचाका उमङ्ग मुनकर्मी, वडा १५ त्रिपुरासुन्दरीका सुरेन्द्र देशेमरु तथा वडा नं १५ इताछेँका लुछेराम खरभुजा र सीताराम सुवाल छन् ।

प्रहरीले यसअघि बुधबार भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने अभिनव भनिने रोशन प्रजापति, भनपा–१ बोलाछेँ बस्ने सगुन प्रजापति, भनपा–८ क्वाछँे बस्ने १८ वर्षीय सञ्जीव फासिकौ पक्राउ गरेको थियो । त्यस्तै ललितपुरको बडिखेल घर भई सूर्यविनायक बस्ने २१ वर्षीय विकेश प्रहरीलाई खुकुरीसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

ढुङ्गा हान्ने, सिसी क्यामरा फुटाउने र हुलदङ्गा गरेकाले अभियुक्तलाई राति नै पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाएर आवश्यक कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसाईँले जानकारी दिनुभयो ।

राति ढुङ्गा हानाहान हुँदा पाँच प्रहरी सहित ११ जना घाइते भएका थिए । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन बुृधबार तौमढीबाट भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन छ । रासस