चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउँदै लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार मतदान केन्द्र तोकिएका १६१ वटा ठाउँलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य भनी वर्गीकरण गरिएको छ ।
भूगोलको हिसाबले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखेर सुरक्षा योजना बनाइएको छ । निर्वाचनलाई केन्द्रित गरेर पूर्व तयारी, निर्वाचनको समयको तयारी र निर्वाचनपछिको तयारी योजना, कार्यनीति र रणनीति तयार गरी अहिले पूर्व तयारीको काम भइरहेको भट्टले बताउनुभयो ।
एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाको काम अगाडि बढाइएको छ । निर्वाचन स्थललाई बाहिरी घेरा नेपाली सेनाले दिँदै छ भने बीचमा सशस्त्र प्रहरी र भित्री घेरामा रहेर नेपाल प्रहरीले सुरक्षा दिँदैछ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भित्री घेरामा आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी पनि रहने छन् । निर्वाचनका लागि एक हजार २५५ जना म्यादी प्रहरी भर्ना गरी तालिम दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी प्रहरी कर्मचारीलाई दुई दिनको निर्वाचन तालिम पनि भइरहेको छ । जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकामा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने तयारी गरिँदैछ भने नेपाली सेनाको टुकडी समेत राखिँदैछ । सशस्त्रको बेसक्याम्पमा ६० जनाका दरले र नेपाली सेनाको टुकडीमा ३० जनाको दरले रहने छन् ।
प्रहरी प्रमुख थापाका अनुसार राजनीतिक कार्यक्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन थालिएको छ भने सुरक्षा चेकमा कडाइ गरिएको छ । देशभर निर्वाचन सामग्री चितवन हुँदै जाने हुँदा त्यसलाई पनि सुरक्षा दिने प्रबन्ध मिलाइएको छ । अवैध मदिरा नियन्त्रण, फरार अभियुक्त पक्राउलगायतका सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिइएको थापाले बताउनुभयो । रासस
प्रतिक्रिया