काठमाडौँ, २८ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आगामी वैशाख २ गतेभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्य रुपमा सबै जिल्लामा प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ ।
जिल्ला प्रचारप्रसार समितिलाई आगामी वैशाख २ गतेभित्र जिल्लाभित्रको सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्न पार्टीले निर्देशन दिएको छ । समिति गठन भएको जानकारीसहितको सम्पूर्ण विवरण वैशाख ३ गतेभित्र केन्द्रीय प्रचारप्रसार समितिमा पठाउनुपर्ने समितिको निर्णय छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिले नेता रमेश लेखक संयोजक र गगनकुमार थापा सहसंयोजक रहेको २५ सदस्यीय केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । उक्त समितिले विभिन्न कार्यदल गठन गरि प्रचार प्रसारका गतिविधि सञ्चालन गरिरहेको छ ।
स्थानीयस्तरका प्रत्येक समितिले वैशाख ३१ गतेसम्मको समयलाई विभिन्न चरणको विभाजन गरी प्रत्येक चरणको गर्ने सम्पूर्ण कार्ययोजनासहितको कार्यतालिका बनाउने जिम्मेवारी दिएको मुख्य सचिव पौडेलले बताउनुभयो । साथै उक्त कार्ययोजना अविलम्ब केन्द्रीय प्रचारप्रसार समितिमा इमेल वा फ्याक्समार्फत पठाउने व्यवस्था गर्नुपर्नेछ ।
पार्टीले प्रत्येक स्थानीय तहको आफ्नो छुट्टै घोषणापत्र अनिवार्य रुपमा बनाउनुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रचार समितिलाई आफ्नो स्थानमा भएको निर्वाचन अभियान र गतिविधिको प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यम (टिभी, रेडियो, अनलाइन, पत्रपत्रिका) लाई प्रत्येक कार्यक्रमको सूचना र समन्वय गर्ने तथा राष्ट्रिय सञ्चारमाध्यमा दिनुपर्ने समाचारका लागि तत्कालै केन्द्रीय मिडिया सेन्टरलाई समेत उपलब्ध गराउन निर्देशन दिइएको छ ।
स्थानीय प्रचार समितिले पार्टीका कार्यक्रम, उम्मेदवारका व्यक्तित्व र योगदानबारे आधिकारिक धारणा उपलब्ध गराउने र पार्टी, भ्रातृसंस्था, शुभेच्छुक संस्थाका प्रतिनिधिमार्फत त्यसको प्रचारप्रसार गर्ने व्यवस्था गर्नुपर्नेछ । रासस
प्रतिक्रिया