सडक सञ्जालले भारतीय निर्भरता हटायो


नेपाल समाचारपत्र, बैतडी ।

केही बर्ष अगाडीसम्म आफु नेपाली हो की होईन भनेर अलमलमा परको बैतडीको दुर्गम तल्लोस्वाराडबासी सडक सञ्जाल बिस्तार भएपछी नेपाली नै भएको आभास गर्न थालेका छन । भारतसंग सिमा जोडिएको बैतडीको तल्लोस्वराड क्षेत्रका सडक बिस्तार भएपछी भारतको निर्भरता पनि हटाएको छ ।

पाटन– पञ्चेश्वर सडकका साथै शिवनाथवाट भारतसंग सिमा जोडिएको नाका नागार्जुन घाट र देहिमाण्डौदेखि गिरेगाडा सम्म सडक पुगेपछी भारतको निर्भरता हटेको हो ।

यसअघि नेपालबाट कुनै पनि सामान गाँउसम्म लैजान सडक नभएकोले भारतबाटै दैनिक उपभोग्य समान समेत किन्ने गरेकोमा अब त्यो बाध्यता हटेको शिवनाथ गाउँपालिका १ शर्मालीकी कमला चाँडले बताउनुभयो ।

यसका साथै जिल्ला अस्पताल बैतडीबाट पनि तल्लोस्वराडमा औषधी पठाउदा समस्या हुने गरेको र हाल आएर सडक बिस्तारसंगै हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

जिल्लाको तल्लोस्वराडका १० गाविसलाई सडक सञ्जालमा जोड्ने लक्ष्य सहित २०३८ सालदेखि निर्माण कार्य शुरु भएको पाटन–पञ्चेश्वर सडकको ६२ किलोमिटर मध्ये चालु आर्थिक बर्षमा ५८ किलोमिटर निर्माण गरिसक्ने लक्ष्य लिइएको डिभिजन सडक कार्यालय पाटन बैतडीका इन्जिनियर आशिक रिजालले बताउनुभयो । शिवनाथदेखि शर्मालीको भारतसंग जोडिएको नाका नार्गाजुन घाटसम्मको २६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भईसकेको छ ।