नरेन्द्र केसी, दाङ ।
नेपालमा थोरै मात्र पुरुषले नर्सिङ पढेका छन्, तीमध्येका एक हुन् शशीधर भण्डारी । प्युठानमा जन्मेर देउखुरीमा बसाइ सरी धेरै समय बिदेशतिर बस्ने भण्डारी धेरैका लागि अस्वाभाविक पात्र जस्ता पनि लाग्छन् । एक त पुरुष भएर नर्सिङ पढ्नु, त्यसमा पनि समाजका जोकोहीसँग ठाडै बहसमा उत्रन खोज्ने प्रवृत्तिका कारण पनि उनी धेरैलाई असहजजस्ता लाग्छन् तर यीनै भण्डारीले धेरैको जीवन बचाइसेका छन् भन्ने कुरा कमैले मात्र थाहा पाएका छन् ।
कुनै व्यक्तिको बिपन्नताले छोयो र यसलाई बचाउन सकिन्छ भन्ने लाग्यो भने बिदेशबाट आर्थिक स्रोत जुटाएर विरामीलाई बिदेशमै पु¥याएर पनि उनी त्यसलाई बचाएरै छाड्छन् । भण्डारीकै कारण ज्यान बचाउने पछिल्ला व्यक्ति बनेका छन् लमही १० कुलमोहरका तुलबहादुर गिरी । तीन बर्षदेखि विरामी परेका गिरी कुनै अस्पतालमा जाँदा पनि निको भएनन् । रोग पत्ता नलागेर तीन बर्षदेखि थलिएका गिरीलाई भण्डारीले फेला पारे । ललितपुरस्थित पाटन अस्पताल पु¥याए । चिकित्सकहरुलाई निकै आग्रह गरेपछि उनीहरुले पनि यसलाई प्रतिष्ठाकै बिषय बनाए र रोग पत्ता लगाइ छाडे ।
‘रोग लागेको तीन बर्षपछि क्रोनिक ल्युपस रोग रहेछ भन्ने पत्ता लागेपछि बल्ल गिरीले उपचार पाएका छन्’– उपचारमा सहजीकरण गरेका भण्डारी भन्नुहुन्छ– ‘नेपालका धेरै अस्पतालमा गहिरोरुपमा डाइग्नोसि नगर्दा विरामीले अकालमै ज्यान गुमाउनुपरेको छ र धेरै विरामीले गलत औषधि खाँदा उल्टै रियाक्सन भएर विरामी मर्ने गरेका छन् ।’
त्यसो त भण्डारीले ज्यान बचाउन सहयोग गरेको यो पछिल्लो उदाहरण मात्र हो । उनले गोर्खा ठाँटीपोखरीकी बृहस्पति गिरी संयुक्त राज्य अमेरिका लगेर उपचार गराए । उनलाई स्पाइना बाइफिडा भएको थियो । त्यसपछि उनले प्युठान खाल लिब्जाकी बिमला पुनलाई संयुक्त राज्य अमेरिका नै पु¥याएर उपचार गरे । विमलालाई भेसिको भजाइनल फिस्चुला भएको थियो ।
गत बर्षदेखि उनी निरन्तर भूकम्प प्रभावित क्षेत्रमा खटिरहेका छन् । विभिन्न संघसंस्थासँग मिलेर भण्डारीले भूकम्पपीडित क्षेत्रको पुनर्निर्माण र स्वास्थ्य उपचारमा सहयोग गरिरहेका छन् । ‘म नर्स पढेकाले पनि होला मेरो मन निकै कोमल छ’– भण्डारीले भन्नुभयो– ‘अरुमाथि अन्याय भएको र अरुलाई दुःख परेको देख्न सक्दैन ।’ स्वास्थ्य बिषय पढेको र यूरोप तथा अमेरिकाका विभिन्न देशमा काम गरेकाले पनि आफूलाई गाउँका रोगी विरामीको सेवा गर्न मन जाने गरेको उहाँले बताउनुभयो । ‘पछिल्लो समयमा मेरो बिदेशीहरुसँग राम्रै सम्बन्ध बनेको छ, केही गरौं भने सहयोग पनि गर्छन्’– उहाँले भन्नुभयो– ‘नेपालमा अशिक्षाका कारण ग्रामीण क्षेत्रमा बस्ने धेरै जनताले दुःख पाइरहेका छन्, उनीहरुको स्वास्थ्य स्थितिप्रति राज्यले बिशेष ध्यान दिनुपर्छ तर सकेको छैन ।’
प्रतिक्रिया