दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षडयन्त्र -बिजुक्छे


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई शनिबार भक्तपुरको ठिमीमा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षडयन्त्र भएको बताउनुभयो ।
उहाँले देशभर एकै पटक आगामी २०७४ बैशाख ३१ गते स्थानीय तह निर्वाचन हुने घोषणा भई तयारी भैसकेको बताउँदै दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको उल्लेख गर्नुभयो । संविधान निर्माण लगायत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी बिदेशीले नेपालको शान्ति एवं विकासमा अवरोध गर्दै आएको बताउँदै उहाँले मधेश केन्द्रित दलको ईसारामा निर्वाचनको मिति सार्न नहुने बताउनुभयो ।
मधेश केन्द्रित दलको माग बमोजिम सरकारले काम गर्दै गए देशमा अस्थिरता जारी रहने उहाँको भनाई थियो ।
स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पार्टीको स्थानीय स्तरलाई नै अधिकार दिइएको बताउँदै अध्यक्ष बिजुक्छेले जिल्ला समितिको सिफारिस अनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने बताउनुभयो ।अध्यक्ष बिजुक्छेले संविधान संशोधनको क्रममा ठूला दलहरुले प्रजातान्त्रिक मूल्य र मान्यताविरोधी थ्रेसहोल्डको ब्यबस्था गरेको बताउनुभयो । उहाँले बलियो प्रतिपक्षको अभावमा कुनै पनि देशमा प्रजातान्त्रिक ब्यबस्थाको विकास हुन नसक्ने प्रष्ट पार्दै नेपकिपाले थे्रसहोल्डलाई नमान्ने बताउनुभयो ।