गिटी कुटेर जीवन बिताइरहेकी दृष्टिविहीन महिलाको उद्धार



रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङ सदरमुकामका विभिन्न स्थानमा गिटी कुटेर जीवन गुजार्दैै आएकी लाक्पा खाङ्डु शेर्पालाई गिटी कुट्ने कामबाट उद्धार गरी सहयोग रकम हस्तान्तरण गरिएको छ।

केही दिनअघि विभिन्न सञ्चारमाध्यममा दुवै आँखा गुमाएकी शेर्पा सडकमा गिटी कुट्दै भन्ने शीर्षकमा समाचार प्रकाशन तथा प्रशारण भएपछि देश तथा विदेशमा संकलित रकम आउन थालेसँगै उद्धार गरिएको हो। मलेसियामा कार्यरत पाँचथर पञ्चमी निवासी केपी अधिकारीको पहलमा संकलित १३ हजार ९ सय ५८ रुपियाँ नगद प्राप्त भएसँगै उनलाई उद्धार गरी खान बस्नको व्यवस्थासहित राखिएको छ।

सो रकम मंगलबार एक कार्यक्रमका बीच स्थानीय समाजसेवी तथा पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल र पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले दृष्टिविहीन शेर्पालाई हस्तान्तरण गरिएको छ। यसअघि पनि अफगानिस्तानमा रहेका मनि सुब्बाले उनको सहयोगका लागि १० हजार नगद पठाएका थिए। यो रकमले खान र बस्नका लागि करिब एक महिना पुग्ने र त्यसपछि काठमाडौंस्थित कपनमा रहेको आनी गुम्बाद्वारा सञ्चालित पुनःस्थापना केन्द्रमा राखिने तयारी भएको स्थानीय समाजसेवी तथा पाथिभरा क्षेत्र विकास समतिका अध्यक्ष सजन पौडेलले बताउनुभयो। यसै गरी समाचार प्रशारण भएसँगै नेपाल शेर्पा विद्यार्थी मञ्चले अस्ट्रेलियामा रहेका नेपालीबाटसमेत शेर्पाको सहयोगका लागि रकम संकलन गरीरहेको र केही दिनमा नै दृष्टिविहीन शेर्पालाई सो रकम हस्तान्तरण गर्ने तयारी रहेको नेपाल शेर्पा संघका केन्द्रीय सदस्य लंजम शेर्पाले बताउनुभयो।

दुवै आँखा नभएको र आफ्ना आफन्तसमेत नभएकी ५२ वर्षीय लाक्पा खाङ्डु शेर्पालाई केही दिनमा नै प्रक्रिया पुर्याएर काठमाडौंको आनी गुम्बामा सम्पूर्ण व्यवस्थासहित राख्ने कामसमेत शुरु भएको लंजमको भनाइ छ। अहिले पनि उनका लागि देश तथा विदेशमा रकम संकलन गर्ने काम भइरहेको पत्रकार महाँसंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो। यसअघि दैनिक गिटी कुटेर दैनिकी गुजारिरहेकी शेर्पा अहिले कोठामा नै आराम गरेर बस्दै आएकी छिन्। सहयोग जुटेसँगै उनको दैनिकी नै फेरिएको छ।

प्रतिक्रिया दिनुहोस्