ओलीको चुनौती– ‘एमालेविरुद्ध चुनावमा सबै मिल्नुस्’


धन बस्नेत, पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कमजोर बनाउन ल्याइएको संविधान संशोधनलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ। संविधान संशोधनले देशलाई कमजोर बनाउने भन्दै उहाँले त्यसको विरुद्ध एमाले लडिरहने स्पष्ट पार्नुभयो।

‘संविधान फास्ट ट्र्याकबाट ल्याइएको होइन’, उहाँले पोखरामा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो– ‘साढे ७ वर्ष लगाएर जनतासँग छलफल गरेर ल्याइएको संविधान हो। त्यसको संशोधन हुँदैन।’ संविधानले सबैलाई हक–अधिकार दिएको उल्लेख गर्दै संशोधन नभई चुनाव हुन दिन्न भन्नेलाई जनताले नै कारबाही गर्ने स्पष्ट पार्नुभयो।

मेची–महाकाली अभियानबाट देश नै एमालेमय भएको दाबी गर्दै अध्यक्ष ओलीले हारिन्छ कि भन्ने डर र पिरले चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको दाबी गर्नुभयो। ‘एमालेलाई रोक्ने रणनीति भनेको एकमात्र विकल्प चुनाव रोक्नु हो’, उहाँले भन्नुभयो– ‘एमालेविरुद्ध चुनाव लड्न सबै मिल्नुस्।’ उहाँले स्वस्थ्य प्रतिस्पर्धाका लागि एमाले तयार भएको जिकिर गर्नुभयो।

नेपाली जनता लोकतन्त्र र एकताको पक्षमा भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र एकताका लागि एमाले नै अन्तिम विकल्प भएको ठोकुवासमेत गर्नुभयो। ‘चुनाव हुन दिन्नँ भनेर केही नेता कुर्लिरहेका छन्’, उहाँले भन्नुभयो– ‘संविधान संशोधनको विषयलाई ल्याएर भाँजो हाल्नुको औचित्य छैन।’ उहाँले भन्नुभयोे– ‘राजनीतिक अपराधलाई एमाले सहँदैन, मान्दैन र स्वीकार्दैन।’

नेता ओलीले नेपाली कांग्रेस पहिला ठिकै भए पनि अहिले उसको सिङ पलाएको बताउनुभयो। ‘कांग्रेसको सिङ पलाएको छ। बाह्र सिङ भएको छ’, उहाँले भन्नुभयो– ‘त्यो सिङ अहिले झाडीमा अड्किएको छ।’ उहाँले आईजीपी नियुक्ति प्रकरणमा कांग्रेसको राजनीतिक हस्तक्षेपविरुद्ध कटाक्ष गर्नुभयो।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखराको विकासमा एमालेको भूमिका महत्वपूर्ण हुने दाबी गर्नुभयो। ताल संरक्षण गर्दै विमानस्थल निर्माण गर्न सकिए पोखरा पर्यटन शहरको पहिचान अन्तर्राष्ट्रियकरण हुने उहाँको भनाइ थियो।

‘विकास निर्माणका लागि जनता चुनावमा जान आतुर छन्’, उहाँले भन्नुभयो– ‘अब चुनाव कसैले रोकेर रोकिँदैन।’ सभामा पोखरा लेखनाथ महानगरपालिकासँगै विभिन्न गाउँपालिका तथा छिमेकी जिल्लाहरूबाट समेत सभाको लागि सर्वसाधारणलाई ल्याइएको थियो।