नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार


नेपाल समाचारपत्र
काठमाडौं

दमकमा भएको साहित्यकारहरूको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ। पूर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रूपमा स्थापित स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले विदेशमा रहेका नेपाली स्रष्टाहरूको सहयोगमा कोष स्थापना गरिने भएको हो।

कोषको सञ्चालनका लागि साहित्यकार युवराज रिजालको अध्यक्षतामा समिति निर्माण गरिएको छ। गठित समितिको उपाध्यक्षमा कल्पना पोखरेल, सचिव गिरिराज भट्टराई, सह–सचिव युवराज ढकाल र कोषाध्यक्षमा अशोक थापा रहनु भएको छ। त्यसैगरी सदस्यहरूमा चोमु पासाङ शेर्पा, कुसुम तामाङ र प्रज्वल बाँस्तोला रहनुभएको छ।

कोषले हरेक वर्ष पूर्वाञ्चल क्षेत्रबाट राष्ट्रिय रूपमा स्थापित भएका दुईजना स्रष्टाहरूलाई सम्मान गर्ने कोषका सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो। विशिष्ट प्रतिभा सम्मान र युवा प्रतिभा सम्मान गरी दुईजना स्रष्टाहरूलाई सम्मान गरिने उहाँले बताउनुभयो।

विशिष्ट प्रतिभा र युवा प्रतिभालाई नगद ५० हजार रुपियाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने पनि वहाँले जानकारी दिनुभयो।
यस वर्ष काठमाडांैमा बसेर साहित्य क्षेत्रमा सक्रिय दमकका युवराज नयाँघरेलाई विशिष्ट प्रतिभा सम्मान र दमकमै रहेर साहित्यमा क्रियाशील युवा कवि धनकुटे कान्छालाई युवा प्रतिभा सम्मान गर्न लागिएको कोषका अध्यक्ष रिजालले जानकारी दिनुभयो।