चुनावमा पहिलो हुन कांग्रेस सक्रिय


काठमाडौं, (नेस)

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न र राष्ट्रव्यापी रूपमा पार्टीलाई विजयी गराउन सातवटै प्रदेशमा वृहत सभा आयोजना गर्ने भएको छ। सबै प्रदेशमा व्यापक नागरिक सहभागिताका साथ आयोजना गर्न लागेको वृहत सभामा पार्टीका शीर्षस्थ नेताहरूले सहभागिता जनाउने भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले पार्टीका सबै तहमा स्थानीय निर्वाचन परिचालन समितिलगायत आवश्यक अन्य समिति गठन गरेर चुनाव प्रचारप्रसार अभियानलाई सुव्यवस्थित बनाउने निर्णय पनि गरेको छ। गत आइतबार नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समितिको गठन गरेको थियो।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको प्रथम बैठकले पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै वडा टोलसम्म एउटै अभियानमा पार्टीलाई थप संगठित र परिचालित गर्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थानमा विजय गराउने लक्ष्यमा सम्पूर्ण रूपले केन्द्रित र क्रियाशील हुने निर्णय पनि गरेको छ।