शैक्षिक परामर्शदातालाई तालिम


नेपाल समाचारपत्र
भक्तपुर

शिक्षा मन्त्रालय र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई )ले संयुक्त रूपमा हालसम्म १ हजारभन्दा बढी शैक्षिक परामर्शदाताहरूलाई तालिम प्रदान गरेका छन्। तालिम २ वर्षअघिदेखि दिन थालिएको बताउँदै टीआईटीआईका कार्यकारी निर्देशक अकिम श्रेष्ठले हालसम्म ४ सयभन्दा बढी संस्थाका र ५५औं ब्याचका गरी १ हजारभन्दा बढी व्यक्तिलाई तालिम प्रदान गरिएको बताउनुभयो।

आज सानोठिमीमा ५५औं ब्याचका शैक्षिक परामर्शदाताहरूको तालिम समापन कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले तालिममा शैक्षिक परामर्शदाताहरूले पालना गर्नुपर्ने ऐन, नियम, आचारसंहिता र विधि तथा प्रकृयाका बारेमा प्रशिक्षण दिने गरिएको बताउनुभयो।

कार्यक्रममा शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख उपसचिव गौरीशंकर पाण्डेले शैक्षिक परामर्शदाताहरूलाई काम गर्न सरकार बाधक नबन्ने बताउँदै व्यावसाय सञ्चालन गर्दा विधिको पालना गर्न भने सचेत बन्नुपर्नेमा जोड दिनुभयो।

शैक्षिक परामर्श सेवासँग जोडिएको व्यावसाय भएको बताउँदै प्रमुख पाण्डेले विदेश जाने विद्यार्थीलाई परामर्शदाताहरूले सही परामर्श दिनुपर्ने सुझाव दिनुभयो। ५ वर्षअघि आएको निर्देशिकाबमोजिम काम गर्ने संस्थाहरूसँग सरकार सँगसँगै काम गर्न तयार रहेको बताउँदै स्वीकृती नलिई सञ्चालन गर्ने संस्थालाई बन्द गर्न सरकार बाध्य हुने बताउनुभयो।

प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोदभक्त आचार्यले कन्सल्टेन्सी व्यँवसायीलाई तालिमले प्रभावशाली ,सुदृढ, परिपक्व र मर्यादित बनाउने विश्वास व्यक्त गर्दै यसले शिक्षाको ऐन नियममा बाँध्ने तथा व्यावसायीलाई दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा फोकल पर्सन बसन्ती रोशन श्रेष्ठ, तालिम संयोजक मीना खरेल, प्रशिक्षक सरीता रेग्मी तथा तालिममा सहभागीका तर्फबाट रेश्मा महर्जन, अमितबाबु ढुंगाना, क्षितिज कार्कीलगायतले तालिमको महत्व तथा यसको विविध पक्षबारे चर्चा गर्नुभएको थियो।

सो अवसरमा दश दिनको उक्त तालिम पूरा गरेका ५५औं ब्याचका ४१ जना सहभागीलाई टीआईटीआईका कार्यकारी निर्देशक श्रेष्ठले प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो।