भाषा परीक्षाको आवेदनमा एक साताभित्र सच्याउन पाइने

0
Shares

रोविन पौडेल, काठमाडौं

कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको फारम भर्ने समय सिमा शुक्रबार सकिएको छ। यस अवधिमा ७५ हजार ९ सय २५ जनाले बैंकमा रकम बुभाएका छन् भने ७५ हजार २ सय ४६ जनाले अनलाइनमार्फत् आवेदन दिएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

नेपाल समाचापत्रसँग कुरा गर्दै वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले आवेदन दिनेमध्ये २४ हजार २ सय ३० जनाले उत्पादनमुलक क्षेत्र र ५१ हजार १६ जनाले कृषि तथा पशुपालनको लागि फारम भरेको जानकारी दिनुभयो।

यसैबीच भाषा परीक्षाका लागि आवेदन दिँदा पासपोर्ट नम्बर, नाम, ठेगाना, फोटोलगायत विवरणमा गल्ती भएको भए सच्याउन पाइने भएको छ। सच्याउनका लागि छ दिनको समय दिइएको शाखाले जनाएको छ। निर्देशक भण्डारीले उल्लेखित विवरणमा गल्ती भए शुरुका दिनदेखि नै सच्याउने गरिएको भए पनि बाँकी रहेकालाई आइतबारदेखि शुक्रबारसम्मको म्याद दिएको बताउनुभयो। उहाँले भन्नुभयो–‘आवेदकले आफूले चाहेको काम गर्न भरेको कार्य क्षेत्रबाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सक्नेछन्।’

विभागका अनुसार यस वर्ष २९ हजार १ सय ६१ जनाले पशुपालनका लागि आवेदन दिएका छन् भने २१ हजार ८ सय ५४ जनाले कृषिका लागि फारम भरेका छन्। त्यस्तै ११ हजार ९ सय जनाले फिटिङमा, ७ हजार २ सय २९ जनाले नापतौलमा र ५ हजार ९३ जनाले कनेक्सनका लागि फारम भरेका छन्।

शाखाले परीक्षा आगामी जेठ २७ र २८ गते हुने तय भएको छ। फारम भरेसँगै आवेदनकर्ताले प्रवेशपत्र पाइसकेको र परीक्षा केन्द्र चाँडै नै शाखाको वेबसाईटमार्फ्त जानकारी दिइने शाखाले जनाएको छ।