रक्त समूह फरक भए पनि मृगौला प्रत्यारोपण



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा पहिलोपटक फरक रक्त समूहबाट मिर्गौला प्रत्यारोपण सफल भएको छ। यसअघि एउटै रक्त समूह भएकाहरूको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक ‘एबीओ इन्कम्प्याटिबल’ मृगौला प्रत्यारोपण भएको हो।

मृगौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट विभागका चिकित्सकको संलग्नतामा सफल प्रत्यारोपण भएको हो। काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ डा. शाहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘अब अन्य बिरामीलाई पनि भर्ना गरांै। भारतमा समेत यो प्रयास निकै कम भएको छ। अहिले श्रेष्ठको अवस्था राम्रो भएको जानकारी पाएका छौं।’

अहिले श्रेष्ठको डिस्चार्ज भइसकेको छ। डा. शाहका अनुसार ‘ओ’ ब्लड ग्रुप भएकी सुलोचनालाई ‘ए’ ब्लड ग्रुप भएका बाबु श्यामकृष्ण श्रेष्ठले मृगौला दान गर्नुभएको हो। फरक रक्त समूहको मृगौला प्रत्यारोपण पहिलो प्रयासमै सफल भएको डा. शाहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्