प्रदेश–२ को चुनाव सार्न प्रधानमन्त्रीको प्रस्ताव


मधेसी मोर्चाद्वारा अस्वीकार, दुई दिनभित्र निकास दिने प्रमको आश्वासन

बीपी साह, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन पछि सार्न प्रस्ताव गर्नुभएको छ। २ नम्बर प्रदेशमा निर्वाचनको वातावरण बन्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा अन्य सबै प्रदेशमा निर्वाचन गर्ने र जेठ मसान्तभित्र २ नम्बर प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो।

चीन भ्रमणपछि सत्तारूढ नेपाली कांग्रेससहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गराउने प्रस्ताव राख्नुभएको हो। दुई चरणमा निर्वाचन गर्दा अप्ठ्यारो हुने सत्तारूढ दलकै नेताहरूले बताएपछि प्रधानमन्त्रीले दुई दिनभित्रै सहमति गर्ने बताउनुभयो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो– ‘शीर्ष नेतृत्वसँग छलफल गरी अन्तिम निष्कर्षका लागि मलाई दुई दिन अझै दिनोस्। दुई दिनभित्र सबै कुरा मिल्नेछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा सीमांकनबाहेकको संविधान संशोधन गर्ने प्रस्ताव पुनः प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो। कार्यदलले पनि सोही विषयमा आफ्नो कुरा राखेको थियो। कार्यदलले कुनै सहमति जुटाउन नसकेपछि सो कार्यदल नै विघटन गरिएको छ।
बैठकपछि नेपाल समाचारपत्रसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो– ‘प्रधानमन्त्रीले पुनः पुरानै प्रस्ताव राख्नुभयो। उहाँले २ नम्बर प्रदेशमा अहिले नै निर्वाचन सम्भव नभए दोस्रो चरणमा गर्ने कुरा पनि उठाउनुभयो। तर हामी मानेनौं। सत्ता पक्षको मुड सहमति गर्ने जस्तो लागेन। त्यही भएर आज कुनै सहमति भएन।’

प्रधानमन्त्रीले हाल दर्ता भएको संविधान संशोधन विधेयकलाई परिमार्जन गरी अगाडि बढाउने आश्वासन मधेसी मोर्चाका नेताहरूलाई दिनुभएको थियो। साथै प्रधानमन्त्रीले संशोधन फेल भए पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता मोर्चाबाट खोज्नुभएको थियो। तर, मधेसी मोर्चाका नेताहरूले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताउनुभयो। लालले भन्नुभयो– ‘सरकारको नियत समस्या समाधान गर्ने जस्तो लागेन।

प्रधानमन्त्रीले स्थानीय निकायको संख्या बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो तर निर्वाचनपछि मधेसमा स्थानीय निकायको संख्या बढाउने भन्नुभयो। यस्तो भए निर्वाचनको अर्थ नै हुँदैन। त्यही भएर प्रधानमन्त्रीले दोस्रो चरणमा २ नम्बर प्रदेशमा निर्वाचन गराउने कुरा राख्नुभयो। तर हामीले त्यो कुरा पनि अस्वीकार गरेका छौं।’

छलफलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मधेसी मोर्चा निर्वाचनमा सहभागी भए मात्र छलफल अगाडि बढाउनुपर्ने बताउनुभयो। संविधान संशोधन प्रक्रियाभन्दा निर्वाचन महत्वपूर्ण रहेको भन्दै सिटौलाले निर्वाचनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

तर कांग्रेस नेता एवम् भौतिक योजना मन्त्री रमेश लेखकले असन्तुष्टलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने बताउनुभएको थियो। उहाँले मधेसी मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा जाँदा उपयुक्त हुने बताउनुभयो। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुभएको थिएन।