टीकाको १२ वर्ष


रश्मी थापा

गायिका टीका प्रसाईं नेपाली सांगीतिक क्षेत्रमा आएको लगभग १२ वर्ष भयो। यो अवधिमा उनले लगभग कलेक्सन, सोलो एल्बम र विभिन्न फिल्ममा गरेर एक सयभन्दा बढी गीतहरु गाइसकेकी छिन्। झापा तोपगाक्षीबाट संगीतमै लाग्ने उद्देश्यका साथ २०६१ सालमा काठमाडौं आएकी उनले राजधानी छिरेदेखि नै आफ्नो सपनालाई पछ्याइरहिन्।

बाल्यकालदेखि नै गीतसंगीतमा रुचि भएकाले यही क्षेत्रमा स्थापित हुने उनको सपना थियो। उनको पहिलो गीत २०५८ सालमा रेकर्डिङ भएको थियो। ‘त्यो बेला म कक्षा १० मा पढ्थें। बिर्तामोडमा पहिलोपटक कलेक्सन एल्बमका लागि तिम्रो दिलको कुनाकानी ठाउँ छ कि छैन र के गर्नु हो मेरो खसम बोलको गीत गाएको थिएँ’, टीकाले गायन यात्राको शुरुआती क्षण सम्झँदै भनिन्– ‘जुन गीतहरुमा सूर्य नेपाल दाइको संगीत र निलम वलि दाइको शब्द थियो। स्कुलमा हुने विभिन्न कार्यक्रममा भाग लिइरहने भएकाले स्कुल पढ्दा पढ्दै गीत रेकर्ड गर्न सबैबाट हौसला मिल्यो। त्यसपछि काठमाडांै आएँ।

काठमाडांै आउनुको प्रमूख कारण गीतसंगीतमा नै लाग्नुथियो। काठमाडौंमा आएपछि विभिन्न रियालिटी शोहरु तिम्रो सु्र मेरो गीत, सुर संगम, नेपाली तारा, मायाको डोरी, अन्ताक्षरी, एसियन स्टारलगायतमा भाग लिएँ। कुनैमा जीत भयो कुनैमा हार भयो। यसै क्रममा नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो तिम्रो सुर मेरो गीतको २०६२÷०६३ को विजेता बन्न सफल भएँ।’ टीकाले थपिन्– ‘गीतसंगीतमा रमाउने मान्छे प्रतियोगीताको विजयी बन्दा निकै खुसी लागेको थियो। मेरो रहरलाई घरपरिवारले पनि साथ दिनुभयो। सांगीतिक क्षेत्रमा परिवारको कोही सदस्य नआए पनि घरको माहोल संगीतमय थियो। सबैजना गीतसंगीतलाई माया गर्नुहुन्थ्यो। यही कारणले पनि मलाई संगीतमा लाग्न प्रेरणा र सहयोग मिल्यो।’

आधुनिक, लोक, पप, फिल्मी आदि गीतहरुमा स्वर भरेकी उनले नेपाली मात्र होइन भोजपुरी मैथिली र चौधरी भाषाका गीतहरु पनि गाएकी छिन्। ‘काठमाडौं आएपछि संगीतकार तथा गायक महेश खड्का दाइको संगीतमा पाँच पाण्डव नामक फिल्ममा सरर् सरर् मच्चचाउ लिङ्गे पिङ बोलको गीत गाउने मौका पाएँ। उहाँले मैले रियालिटी शोमा गीत गाएको हेर्नुभएको रहेछ र मेरो स्वर मन परेपछि फिल्ममा गीत गाउन अफर गर्नुभएको रहेछ। विभिन्न रियालिटी शोमा भाग लिँदै गर्दा कलेक्सन एल्बमहरुमा धेरै गीत गाएँ। विशेष गरी मेरा आधुनिक गीतहरु धेरै छन्। तर ५÷६ वर्ष अगाडि लोकदोहोरी गीतहरु पनि गाएँ’ –उनले सुनाइन्। पहिलोपटक नै फिल्मको गीत गाएकी उनले त्यसपछि लगातार छोरीको कर्म, आँधी तुफान, कन्यादान २, निर्मला, बीच बाटो, आगो २ लगायत ६० भन्दा बढी फिल्मका गीतहरुमा स्वर दिएकी छिन्।

उनले गाएकामध्ये गायक सञ्जीव पराजुलीसँगको तिमी मलाई मन पर्छ, तिमी भन्छौ भने म तिम्रै हुँ, हातैमा चुरा, नाई मलाई थाहा छैनलगायतका गीतहरु श्रोताले मन पराएका गीत हुन्। देउडा गीत चट्ट सलाम छका साथमा झापा बिर्तामोड, दोलालघाटलगायतका दोहोरी गीतहरुमा पनि उनले स्वर दिएकी छिन्। हाल गायक सञ्जीव पराजुली र उनले गाएको गीत नाइँ मलाई थाहा छैनमाथि अन्तर्राष्ट्रिय नृत्य प्रतियोगीता भइरहेको छ। उक्त गीतमा नाचेको भिडियोका आधारमा विजेता छनोट गरिने टीकाले जानकारी गराइन्।

विभिन्न स्टेज कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले नेपालका विभिन्न जिल्लाको भ्रमण गरेकी उनले सांगीतिक क्षेत्रमा भिजेको लामो समयपछि २०७२ सालमा मात्र मेलोडी नामक सोलो एल्बम ल्याउन सफल भइन्। तर त्योभन्दा अघि उनले आफ्नो गायक पति लेखराज गुरुङसँगको सहकार्यमा २०६४ सालमा सिन्ध्ुलीगढी नामक एल्बम प्रकाशन गरेकी थिइन्। जसमा पूर्वेली भाकाका गीतहरु समावेश थिए। संगीतमा लागेकी उनले विवाह पनि सांगतिक क्षेत्रमै आवद्ध व्यक्तिसंग गरिन्। ‘केही वर्षअघि नेपाल वान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो मायाको डोरीमा भाग लिने क्रममा उहाँसंग भेट भएको थियो। अर्को रियालिटी शोमा महिला र पुरुष जोडी बनाएर गीत गाउनुपर्नेथियो। उक्त कार्यक्रममा हामी एक अर्काको सांंगीतिक जोडी बनेर सहभागी भएका थियौँ। त्यसै क्रममा ४ वर्ष बित्यो। चार वर्षसम्म एक अर्कालाई राम्रोसंग बुझेपछि २०६४ सालमा विवाह बन्धनमा बाँधिएका हांै’ टीका भन्छिन् ‘६ वर्षको छोरा छ। उहाँ पनि यही क्षेत्रको भएकाले एक अर्कालाई बुझ्न सजिलो मलाई हरेक कामका लागि श्रीमान्को पूर्ण रूपमा सपोर्ट छ।’

आफूलाई सफल असफल भनेर मूल्याङ्कन गर्नुभन्दा पनि आफूले गरेको कामबाट कति सन्तुष्टि मिलेको छ भन्ने कुराले अर्थ राख्ने कुरामा विश्वास राख्ने उनी आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताउँछिन्। ‘मानिसहरु एक दुई गीत गर्दागर्दै छोटो समयमै पनि चर्चा बटुलिरहेका हुन्छन्। तर मेरो त्यस्तो अवस्था नभएको हो कि जस्तो लाग्छ। एक दुई गीतबाटै चर्चा बटुल्नु सफलता हो जस्तो पनि मलाई लाग्दैन। लामो समय सांगीतिक क्षेत्रमा रहेर थोरै भए पनि श्रोताको मनमा पछिसम्म छाप बस्ने खालको गीत दिन सकियो र राम्रोसंग काम गर्न सकियो भने त्यो नै सफलता हुन्छ जस्तो मलाई लाग्छ ‘म आफूलाई सफल असफलभन्दा पनि कति राम्रो काम गरेको छु र त्यसबाट कति सन्तुष्ट छु भन्न्ने कुरामा विश्वास राख्छु। आफ्ूले गरेको कामबाट कत्तिको सन्तुष्टि मिलेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

सांगीतिक क्षेत्रमा गीत र एल्बमभन्दा पनि मेला, महोत्सव र स्टेज कार्यक्रमबाट कलाकारको जीवन यापन चलिरहेको बताउने उनलाई सांगीतिक क्षेत्रमा टिक्नका लागि यस्ता कार्यक्रमले धेरै राहत दिने अनुभव छ। ‘कलाकारले एउटा गीत निकाल्नका लागि ५०, ६० हजार लगानी गर्नुपर्छ। त्यसमा पनि भिडियो बनाउँदा डबल नै खर्च लाग्छ। गीत चलेन भने त्यो लगानी उठ्दैन। स्टेज कार्यक्रमहरुबाट आएको पैसा नै फेरि अर्को गीतका लागि लगानी गर्नुपर्छ। यसरी हेर्दा नेपाली गीतसंगीतको अवस्था ठीकठीकै रहेको छु टीका गफिन्छिन् ‘मेरा गीतहरु श्रोताहरुले मन पराइदिनुभएको छ, यसमै खुसी छु।’