रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित


रसुवा,(नेस) ।
कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित रहेको देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार अघिल्लो वर्षको तुलनामा मकै २० प्रतिशत, आलु १५ प्रतिशत, धान ८ प्रतिशतले बृद्धि भएका र १२ हजार केजी जडिवुटी उत्पादन, १८ करोड भन्दा बढि रेमिटयान्स भित्रिएको तथा आन्तरिक तथा वाह्य पर्यटक बढेकाले ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित भएका हुन् ।

अघिल्लो वर्ष जिल्लामा १८ सय मेट्रिक टन खाद्य अपुग भएकोमा यस वर्ष उत्पादन बढेसँगै एक हजार मेट्रिक टन खाद्यान्न अपुग हुृने कार्यलयले जानकारी दिएको छ ।

जिल्लामा ३० प्रतिशत खाद्यान्न अपुग

जिल्लामा अझै पनि ३० प्रतिशत खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने वाध्यता रहेको छ । जिल्लामा रहेको जमिन मध्ये ८ प्रतिशत मात्र खेती योग्य जमिन भएकाले खाद्यान्न अन्य जिल्लाबाट ल्याउनु परेको हो ।

जिल्लामा रहेको १ लाख ५ हजार दुई सय हेक्टर जमिन मध्ये खेतीयोग्य जमिन १२ हजार ४५८ हेक्टर मात्र रहेको छ । कार्यालयका अनुसार जिल्लामा १२ सय हेक्टर खेत र ११ हजार १६७ हेक्टर पाखो जमिन रहेको छ ।

२०७२ बैसाख १२ गते गएको भुकम्पका कारण जिल्लाको लाङटाङ, हाकु, राम्चे, र डाँडाँगाँउका केही क्षेत्र खाद्य सुरक्षाका हिसावले जोखिमपुर्ण रहेको वरिष्ठ कृषि विकास अधिकृत रमेस हुमागाँईले वताउनुभयो ।

कृषि उत्पादनका हिसावले एक हजार देखि एक हजार पाँच सय मेट्रिक टन खाद्यान्न अपुग हुने भएपनि  पहुँच ,उपयोग र स्थिरताका हिसावले न्यूनतम खाद्य असुरक्षित जिल्ला भएको हुमागाँइले वताउनुभयो ।