चितवन, १६ चैत । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर– काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ ।
सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार ९४० जना तथा सन् २०१५ मा २८ हजार ५९१ जनाले हवाईमार्गको प्रयोग गरेका थिए । सन् २०१७ को जनवरी र फेब्रुअरीमा मात्रै १५ हजार ९३४ जनाले सो हवाईमार्गको प्रयोग गरेका छन् ।
सन् २०१४ मा भरतपुरदेखि काठमाडौँको हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या सात हजार १४४ तथा काठमाडौँदेखि भरतपुरसम्म पाँच हजार १८७ विदेशी नागरिकले हवाईमार्ग प्रयोग गरेका भरतपुर विमानस्थलले जनाएको छ । सन् २०१५ मा भरतपुरदेखि काठमाडौँसम्म हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या चार हजार १७९ र काठमाडौँ–भरतपुर हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिक दुई हजार ८८९ रहेका थिए ।
पछिल्लो समय चितवनमा जग्गाको कारोबारमा वृद्धि, नारायणगढ–मुग्लिन सडकखण्ड मर्मतमा भएको ढिलाइलगायत कारणले हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायको भनाइ छ ।
अहिले भरतपुर– काठमाडौँ– भरतपुरका लागि वुद्ध एयरको छवटा, यति एयरको तीनवटा र सिम्रिक एयरले एउटा उडान भर्दै आएको छ । तर पनि यात्रुले समयमा टिकट नपाउने समस्या भने अझै उस्तै छ । चितवन घुम्नका लागि आउने विदेशी पर्यटक बढी मात्रामा हवाईमार्गको प्रयोग गर्ने गर्दछन् । रासस
प्रतिक्रिया