सीटीईभीटी जुट्यो व्याबसायीक पाठ्यक्रम निर्माणमा



Council for Technical Education and Vocational Training (CTEVT), Bhaktapur.

 

पुष्कर बुढाथोकी, भक्तपुर ।

प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद् (सीटीईभीटी) व्याबसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्ष) निर्माणमा जुटेको छ । यसैक्रममा सीटीईभीटीले मंगलबार प्रोफेसनल कोर्ष निर्माण तथा संचालन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सानोठिमीमा आयोजित कार्यक्रममा व्याबसायिक पाठ्यक्रमको खाका प्रस्तुत गर्दै सीटीईभीटी अन्तर्गत पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिपक पौडेलले सम्बन्धित पेशागत सीपमा आधारीत दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले पाठ्यक्रम तयार पार्न लागिएको बताउँदै प्लम्बिङ्ग ,इलेक्ट्रिसियन ,वेल्डर ,कार्पेन्टर लगायतका पेशामा हाल देशमा कार्यरत बिदेशी कामदारलाई प्रतिस्थापित गर्नु पाठ्यक्रम निर्माणको मुख्य उद्देश्य भएको बताउनुभयो ।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष डा.कुलबहादुर बस्नेतले आर्थिक तथा सामाजिक परिवेशका कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित युवायुवतीलाई अवसर प्रदान गर्न सीटीईभीटी लागिपरेको बताउँदै बैदेशिक रोजगारीमा जाने युवायुवतीलाई दक्ष बनाई उच्च पारिश्रमिक पाउन सक्षम बनाउन नयाँ पाठ्यक्रम सहयोगी हुने आशा ब्यक्त गर्नुभयो

यसैगरी सीटीईभीटीका सदस्य सचिब रमेश बखतीले नयाँ बिषयमा निर्माण सम्पन्न भएका र निर्माणाधिन पाठ्यक्रमहरुलाई थपघट सहित परिमार्जन र परिष्कृत गरी पूर्णता दिने उद्दश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सरोकारवाला बिभिन्न संघ,संगठन र एसोसिएसनका ८० भन्दा बढी सहभागी प्रतिनिधिले कार्यक्रममा पाठ्यक्रमको नाम,तालिम अबधि ,प्रबेशको लागि न्युनतम योग्यता ,प्रशिक्षकको योग्यता,सीप परीक्षण ,तालिमको आवश्यकता र संभाब्यता लगायतका बिषयमा आआफ्नो सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्