भूकम्पपीडितलाई चुनाव भन्दा घर बनाउने चिन्ता



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।

करिव २० वर्ष पछि देशमा हुन लागेको स्थानियतह निर्वाचनको अहिले जिल्लाका भूकम्प प्रभावित गाउँहरुमा खासै चहल पहल छैन ।

भूकम्पले घरबार विहिन स्थानियहरुलाई चुनाव भन्दा पनि कसरी घर बनाउने भन्ने चिन्ता भएकाले चुनावको चहल पहल नभएको हो ।

चुनावको मिती नजिकिए पनि गाउँमा यस सम्बन्धि गतिविधीहरु खासै छैनन् । न विगतका चुनाव झैं चासो र चर्चा नै छ । बरु भूकम्पपीडितहरु बल्ल तल्ल घर बनाउन लागेका छन् ।

चुनावको महत्व बुझेका केहि व्यक्तिहरु बाहेक अधिकांश स्थानियहरु चुनावको बारेमा अनभिज्ञ झैं छन् । न उनीहरुलाई स्थानिय निर्वाचनको महत्वका बारेमा बुझाउन कुनै राजनितीक दलका प्रतिनिधी नै गाउँमा पुगेका छन् । त्यसैले पनि चुनावको चर्चा नभएको मण्डनभेगका स्थानियवासि सुमन पराजुलीले बताए ।

चण्डेनीमण्डन स्थित माझी गाउँकी बुधमाया माझीलाई आउँदै गरेको स्थानिय निर्वाचनको बारेमा खासै मतलब नै छैन । भत्किएको घर कसरी बनाउने भन्ने एउटै चिन्ता भएको बताउने बुधमायालाई सरकारले हालै गठन गरेका स्थानियतहका बारेमा पनि खासै जानकारी छैन ।

साविक चण्डेनीमण्डन गाविसको २ नम्बर वडा नै आफ्नो ठेगाना बताउने उनी जस्ता माझीगाउँका धेरैलाई हाल आफूहरु मण्डन–देउपुर नगरपालिकामा गाभिएको पत्तै छैन । “यो नगरपालिका भन्दा त गाविस नै ठिक छ ।” उनीहरु यसै भन्छन् ।

माझीगाउँमा मात्र होइन, यस नगरपालिका भित्रका अधिकांशहरुलाई चुनावको रौनक कम छ । केहि राजनितीक दलहरु भने आफूहरु चुनावको तयारीमा लागेको बताइरहेका छन् ।

यद्दपी कोहि भने वडाअध्यक्ष र नगरप्रमुख बन्ने सपना बुनिरहेका छन् । कतै एउटै पदका लागि धेरै जनाले आफूहरुले टिकट पाउनु पर्ने दाबी गरिरहेको पनि पाइएको छ । कुनै दलहरुले भने पुरानै अनुहारलाई अघि सार्ने तयारी पनि गरिरहेका छन् । तर युवापुस्ताले भने अबको नेतृत्व युवापुस्ताले नै पाउनु पर्ने भनेर पाकोपुस्तालाई दबाब पनि दिइरहेको पाइएको छ ।

चण्डेनीमण्डनकै युवा महेश नेपाल अब आउने स्थानिय निर्वाचनमा युवापुस्ताले नेतृत्व नगर्ने हो भने सरकारले नयाँ स्थानिय तह निर्माण गर्नुको औचित्य नै नहुने बताउँछन् । नयाँ पुस्ताले नयाँ सोच र शैलीले विकास निर्माण गर्न सक्छन् भन्ने उनको जोड छ ।

केहि युवापुस्ताले यसो भनिरहे पनि निर्वाचनको बारेमा अनभिज्ञ अधिकांश ग्रामिणवासिहरुलाई कसरी चुनावमा सहभागी गराउने भन्ने खालका निर्वाचन शिक्षा सम्बन्धि गतिविधीहरु अहिले सम्म गाउँमा पुगेका छैनन् ।

यसले गर्दा चुनावमा स्थानियहरुको उपस्थिती कम हुने पो हो कि भन्ने डर पनि वढेको छ । यस सम्बन्धमा स्थानिय प्रशाशन लगायत राजनितीक दलका प्रतिनिधीहरुले चासो राखेर सबैलाई निर्वाचनको महत्व र निर्वाचन शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्नु आवश्यक रहेको युवाहरु बताउँछन् । यद्दपी जिल्लाका शहरीभेगहरुमा भने चुनावी माहोल तात्न लागेको पाइएको छ ।

फोटोः घर बनाउने चिन्तामा रहेकी चण्डेनीमण्डनकी बुधमाया माझी, घर बनाउँदै पीडितहरु , र पीडितका टहराहरु ।
तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्