धनकुटामा १ सय १७ मतदान स्थल



नेपाल समाचारपत्र
धनकुटा
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धनकुटामा १ सय १७ वटा मतदान स्थल कायम गरिएको छ।

३ नगरपालिका र ४ गाउँपालिकाकाका स्थानीय राजनीतिक दलसँग छलफलपछि जिल्ला सिफारिस समितिको बैठकले जिल्लामा १ सय १७ वटा मतदान स्थल कायम गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मतदान स्थल महालक्ष्मी नगरपालिका, चौबीसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कायम गरिएको छ।

महालक्ष्मी नगरपालिकामा २१ वटा, चौबीसे गाउँपालिकामा २१ वटा र साँगुरीगढी गाउँपालिकामा २१ वटा रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका नायब सुब्बा एवम् सूचना अधिकारी केशव पौडेलले बताउनुभयो। यसै गरी धनकुटा नगरपालिकामा १४ वटा, पाख्रीबास नगरपालिकामा १५ वटा, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा १३ वटा, छथर जोरपाटी गाउँपालिकामा १२ वटा रहेका छन्। संविधानसभाको दोस्रो निर्वाचनमा धनकुटामा १ सय १० वटा मतदान केन्द्र रहेका थिए।

स्थानीय तहको निर्वाचनका लागि ११ वटा पुराना मतदान केन्द्र हटाइएको छ भने १६ वटा नयाँ मतदान केन्द्र कायम गरिएको छ। त्यस्तै जिल्ला निर्वाचन कार्यालय धनकुटाले चैत्र अन्तिम साताबाट मतदाता शिक्षाको काम शुरू गर्ने भएको छ। स्थानीय तहको निर्वाचन जिल्लामा सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालय सक्षम र पूर्ण तयार रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्