गुल्मीमा २ सय ९५ क्षयरोगी



क्षयरोगबाट प्रत्येक वर्ष ५ प्रतिशतको मृत्यु

अनिल खत्री,गुल्मी ।

गुल्मी जिल्लामा दुई सय ९५ क्षयरोगका बिरामी रहेका छन । महिला ९९ र पुरुष एक सय ९६ गरी दुई सय ९५ जनाले जिल्लाका विभिन्न स्थानमा रहेका उपचार केन्द्र मार्फत डट्स विधिबाट औषधी खाइरहेका छन ।

जस अन्तरगत खकारमा किटाणु देखिएका महिला ३६ र पुरुष ७१ र पुन उपचारमा आएका पुरुष २० जना गरी एक सय २३ जना रहेका छन । खकारमा किटाणु नदेखिएका फोक्सोको क्षयरोगका बिरामी महिला २३ र पुरुष ४३ गरी ६३ जना रहेका छन् । सो संख्यामा पुन उपचारमा आएका महिला एक र पुरुष चार जना रहेको जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कृष्ठरोग सुपरभाइजर शिसिर सिलवालले बताए ।

शरिरका अन्य भागमा यो रोग भएका महिला ४० र पुरुष ६६ गरी एक सय छ जना रहेका छन् । जसमा दुई जना पुन उपचार गर्न आएको पुरुष रहेका शिलवालले बताए । ०७१-०७२ मा कुल खकारमा किरा देखिएका एक सय १७ मध्ये छ जनाको मृत्यु भएको छ । एक आर्थिक बर्षको उपचार नतिजा एक बर्ष पछाडी आउने गर्दछ । सरदरमा प्रत्येक बर्ष पाँच प्रतिशतको मृत्यु हुने सुपरभाइजर सिलवालले बताए ।

आगामी बर्ष घरघरमै पुगेर बिरामीहरुलाई औषधी बितरण गर्ने कार्यक्रम शुरु भएको छ । औषधी खानकै लागी बिरामीहरु स्वास्थ्य संस्था धाउन नपरोस भनेर प्रत्येक स्वास्थ्य संस्था मार्फत समुदायमा आधारित डट्स विधी संचालन भएको छ । टोल टोलमा उपचार सहयोगी नियुक्त गरि तालिम दिने काम भैरहेका कार्यालयले जनाएको छ ।
जिल्लाका चार स्थानमा क्षय रोगका जटिल प्रकारका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ । धुर्कोट गाउँपालिकाको पिपलधारा र जैसीथोक, इस्मा गाउँपालिकाको दोहली र छत्रकोट गाउँपालिकाको पल्लिकोटमा जटिल प्रकारका क्षयरोगका बिरामी रहेका छन् । भने अरु १० स्थानमा क्षयरोगका बिरामीको संख्या उच्च रहेको कार्यालयले जनाएको छ ।

रेसुंगा नगरपालिकाको तम्घासमा सात र दुविचौरमा चार, सत्यवति गाउँपालिकाका ठुलोलुम्पेकमा पाँच र जोहाङमा तीन जना, मुसिकोट गाउँपालिका अन्तरगतका वामीमा आठ र वडागाउँमा पाँच जना क्षयरोगका बिरामी रहेका छन् । त्यस्तै छत्रकोट गाउँपालिकाको बिरवासमा सात र दरवार गाउँपालिकाको दरवारदेस्थिानमा तीन जना बिरामी रहेका छन् ।
एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने जिल्ला अस्पताल तम्घासका डाक्टर प्रकाश पुनले बताए । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिने पुनको भनाई छ ।

औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा दिनुपर्नेमा पुनले जोड दिए । नेपालमा वर्षेनी पाँच देखि सात हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्