जिल्लामा चुनावी माहौल बढ्दै दलहरू गाउँ केन्द्रित क्रियाकलापमा व्यस्त



कविराज नेपाल, पाल्पा
स्थानीय निर्वाचनको घोषणासँगै पाल्पा जिल्लामा चुनावी माहौल बन्दै गएको छ। जिल्लामा क्रियाशील दलहरूले चुनावी माहौल बनाउनका लागि गाउँ केन्द्रित गतिविधिलाई तीव्र बनाएका छन। पछिल्लो समय जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका गतिविधिहरू गाउँ केन्द्रित हुन थालेपछि यस्तो संकेत देखिएको हो।

यसबाहेक चुनाव घोषणासंगै जिल्लामा मेयर, उपमेयर गाउपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यमा कसलाई टिकट दिने भन्ने बारेमा वहस पनि शुरू भएका छन। यस्ता वहस पार्टीका आन्तरिक वैठकका अतिरिक्त चियापसल र गफगाफमा पनि चर्चाको विषय बन्ने गरेको छ।

पछिल्लो समयमा सदरमुकाम तानसेनमा केन्द्रित भएका दलहरू अहिले गाउँ पालिकालाई लक्षित गरी भेला बैठक सभा र आफ्ना चुनावी रणनीति र प्रशिक्षण दिन व्यस्त छन्। नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले चुनावी रणनीति तयार गर्नैका लागि गाउँगाउँमा प्रशिक्षण र भेला गरिएको र यसबाट नेता कार्यकर्ताबीच आपसी सद्भाव र समझदारी बढेको र कतिपय भ्रमलाई चिर्न सफल भएको बताए।

नेकपा एमाले पनि लामो समयदेखि जनताको प्रतिक्षाको विषय बनेको स्थानीय तहको चुनावमा जनता ब्यग्र प्रतिक्षामा रहेको बेला स्थानीय निर्वाचनबाट संविधानको कार्यान्वयन र जनताले आफ्ना प्रतिनिधि छान्न आतुर रहेकाले पार्टी पंक्ति निर्वाचनमा होमिएको बताउनुभयो।

स्थानीय तहको पुनर्संरचना हुनु अघि ६० वटा गाउँ विकास समिती र दुईवटा नगरपालिका रहेको जिल्लामा अहिले आठ गाउँपालिका र दुईवटा नगरपालिका रहेका छन्। कतिपय जनताको गाउँपालिका केन्द्र अपायक ठाउँमा राखिएको गुनासो आए पनि जनताको विचारमा निर्वाचन जसरी पनि हुनुपर्ने रहेको देखिएको छ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय १७ मतदान स्थल सिफारिस भएको छ। जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन स्थल तोकिएर आए पछि मतदानका लागि बुथ तोकिनेछ। निर्वाचनका लागि अन्य व्यवस्थाबारे छलफल भइरहेको कार्यालयको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्